राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा २४,२७६ रुपैयाँ,चियापानमा मात्र राज्यकाे ७ अर्ब खर्च


प्रकाशित मिति : चैत्र २९, २०७४ बिहीबार

जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा ६ अर्ब ९४ करोड खर्च गरेको छ, यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

चियापानमा एक अर्ब विनियोजन, ५९६ प्रतिशत बढी खर्च
महालेखानियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा एक अर्ब १६ करोड ५० लाख बजेट विनियोजन भएकोमा ५९६ प्रतिशत वृद्धि गरी ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा २४,२७६ रुपैयाँ
आर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ । जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ । कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपैयाँ २५ पैसा रहेको छ । यसरी एक वर्षमा प्रतिव्यक्ति ऋण दायित्व २ हजार १४७ रुपैयाँ ३४ पैसाले बढेको छ ।

सुकुमबासीका नाममा समिति, कामै नगरी आठ करोड खर्च
२ असार ०७१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान समिति गठन गरेको थियो । यस वर्ष आयोग र अन्तर्गतका समितिले विभिन्न पदाधिकारी एवं कर्मचारीको तलब भत्तामा चार करोड ७१ लाख, अन्य भत्तामा एक करोड २१ लाख र अनुगमन तथा भ्रमण, फर्निचरलगायतमा दुई करोड ३८ लाखसमेत आठ करोड ३० लाख खर्च गरेको छ । महालेखा भन्छ– उद्देश्यअनुरूपको कुनै कार्य गरेको नदेखिएकाले उक्त खर्च उपलब्धिविहीन भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com