माछापुच्छ्रेमुनि मर्दी हिमाल
प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार
-

पोखराबाट यात्रामा निस्किएको दोस्रो रात बास बस्न पुगिने ‘हाई क्याम्प’ (३५५०मिटर) बाट मौसम खुलेको दिन माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। माछापु्च्छ्रेमुनि मर्दी हिमाल देख्न पाइन्छ।
-

पर्यटकीय नगरी पोखराबाट यात्रा गरेको दुई दिनमै पुगिने मर्दी पदमार्ग छोटो दूरीको यात्रा गर्न खोज्नेहरूका लागि सही छनोट हुनसक्छ।
-

यो पदयात्रामा जानका लागि कास्कीको काँडे अथवा धम्पुससम्म गाडीमा गएर त्यहाँबाट पीतम देउराली भन्ने ठाउँ हुँदै जान सकिन्छ।
-

चैत वैशाखमा लालीगुराँसले ढपक्कै हुने यो भेगमा विभिन्न नौ रङ्गका गुराँस फुल्ने स्थानीय होटल व्यवसायीहरू बताउँछन्।
-

पदयात्राको लगभग आधा बाटो काटेपछि आउने बादलडाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, हिमचुलीलगायत १४ वटा विभिन्न हिमाल पनि देखिन्छन्।
-

पदयात्रा शुरू गरिने ठाउँदेखि नै यो मार्गमा वसन्त ऋतुमा गुराँसलगायत विभिन्न थरीका फूलहरू फूलेको देख्न पाइन्छ। ढकमक्क फुलेका फूलको सौन्दर्य र चराचुरूङ्गीको कलरवले वातारण अति मोदक हुन्छ।
-

यात्रा शुरू गर्दा खासगरी यो समयमा पहिला गुलाबी गुराँस देखिए पनि उकालो चढ्दै जाँदा गाढा रङ्गको लालीगुराँस पाइन्छ।
-

अन्नपूर्ण पदयात्राका अन्य धेरैजसो मार्गमा मोटरबाटोको सुविधा पुगिसकेकाले गाडी बाटोले नछोएको यो क्षेत्र हेर्न चाहने स्वदेशी तथा विदेशी पदयात्रीहरू यो यात्रामा निस्कन रुचाउँछन्।
-

४५,००० मिटरमा रहेको मर्दी आधार शिविरमा पुग्न यो मौसममा कठिन हुने हुँदा अनुभवी यात्रुबाहेक अरूलाई ४२,००० मिटरमा रहेको भ्यूपोइन्ट अथवा हाईपोइन्ट (३५५० मिटर) सम्मको यात्रा उपयुक्त हुन्छ।
-

साँघुरो र भिरालो बाटो हुँदै मर्दी आधार शिविरसम्म पुग्न बाटो निकै अप्ठेरो र गाह्रो भए पनि त्यहाँ पुगेपछि आँखैअगाडि ठोक्किन आइपुग्ने हिमालहरूले भने थकाइ मेटाइदिन्छन्। यात्रामा निस्किएको तेस्रो बिहान नै हिमालनजिकै पुग्न चाहने यात्रुका लागि यो पदयात्रा एउटा ‘सचेत छनोट’ हुनसक्छ।
-

यात्राको पहिलो रात धेरै जसोले बास बस्नका लागि लोक्याम्प (२९७० मिटर) रोज्छन्। लोक्याम्पबाट सबैभन्दा ठूलो माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। यहाँबाट हाईक्याम्पसम्म बाटोमा भेटिने सबै होटलहरूमा सस्तोमा बास बस्न पाइन्छ। स्वदेशी र विदेशी दुवैका लागि हुने ‘मेन्यू’ भने त्यसको अनुपातमा महँगो लाग्छ।
-

कास्कीको धम्पुस वा काँडे हुँदै यो यात्रा गर्नेहरूका लागि फर्कँदा भने कास्कीको अन्तिम गाउँका रूपमा चिनिने सिदिङबाट पदयात्रा टुङ्ग्याउँदस छोटो र सहज हुन्छ। सिदिङबाट दुई घन्टामा जीपले पोखरा पुर्याइदिन्छ।
Binita Dhala/BBC Nepali






