भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ ।

मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ । घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ”, पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।

उनले थप स्पष्ट पार्दै भने, “ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।”

अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए ।

घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । उपचार भइरहेका घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुको भनाइ छ ।

घटनास्थलमा पुगेर प्रहरीले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने जनाएको छ ।

प्रारम्भिक विवरणहरुका अनुसार चालकले नियन्त्रण गुमाएकाले ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

यसअघि गत सोमबार हिमाञ्चल प्रदेशमा भएको विद्यालय बस दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।

मृत्यु हुने र घाइते हुनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिका रहेका बताइएको छ ।

काँगडा जिल्लाको नुरपुरस्थित वजिर रामसिंह पठनीय मेमोरियल स्कूलका झण्डै ४० जना विद्यार्थी लिएर गइरहेको बस दुर्घटना भएको हो ।

सडकबाट झण्डै २०० फिट तल गहिरो खोँचमा खसेको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २७ जना विद्यार्थी, दुईजना शिक्षक र एकजना बस चालक रहेका छन् ।

भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकमध्येमा पर्छ । चालकको लापरवाही तथा सडक र सवारी साधन राम्रोसँग मर्मत नगरिँदा अधिकांश दुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com