चाँडै नेपाल भ्रमण गर्छु : चिनियाँ राष्ट्रपति


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘चाँडोभन्दा चाँडो’ नेपाल भ्रमण गर्ने बताएका छन् । ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चाँडै र अनुकूल समयमा नेपाल भ्रमण गर्ने बताएका हुन् ।

ब्रिक्स सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार गोवा पुगेका थिए । गोवास्थित पाँचतारे होटेलमा उनले चिनियाँ राष्ट्रपति सीसँग करिब आधा घन्टा भेटवार्ता गरेका थिए । ‘राम्रो भेटघाट भयो । प्रधानमन्त्रीज्यूले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि फेरि निम्ता दिनुभयो,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गोवाबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीले यही वर्ष राष्ट्रपतिको भ्रमण होस् र नेपाल कुनै पनि वेला स्वागत गर्ने अवस्थामा छ भनेर आश्वस्त पार्नुभयो ।’

मन्त्री महतका अनुसार प्रधानमन्त्री प्रचण्डले दक्षिण एसियाका अन्य मुलुक भ्रमण गर्दा नेपाल नछुटोस् भन्ने चाहना व्यक्त गरेका थिए । प्रचण्डले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि चिनियाँ राष्ट्रपतिलाई जानकारी दिएका नयाँ पत्रिकामा खवर छ ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले छिटै नेपाल भ्रमण गर्ने बताएको मन्त्री महतले जानकारी दिए । सीको भनाइ उद्धृत गर्दै महतले भने, ‘तपाईंहरूले मलाई पटक–पटक निमन्त्रणा गरिरहनुभएको छ । पछिल्लोपटक उपप्रधानमन्त्रीज्यू चीन आएरै निम्ता दिनुभयो । अब म चाँडोभन्दा चाँडो उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्छु ।’

त्रिदेशीय साझेदारीका पक्षमा चीन

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारीमा जोड दिएका छन् । ‘दुई देशको सहकार्य र साझेदारीको कार्यान्वयनमा हामीले जोड दियौँ । पहिला भएका समझदारीअनुसार कोदारी, कोरलालगायतका नाका सुचारु गर्ने विषयमा हामीले स्पष्ट कुरा राख्यौँ । यसलाई अघि बढाउने कुरा उहाँहरूले गर्नुभयो,’ भेटमा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘आन्तरिक एकताका लागि सरकारले गरेका प्रयासलाई चीनका तर्फबाट समर्थन प्राप्त भएको छ,’ भेटवार्तामा सहभागी नेपाली अधिकारीले भने, ‘शान्तिप्रक्रियाका दुई शक्ति कांग्रेस र माओवादी सँगै रहेको सरकारले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ । यो हाम्रो साझा धारणा हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com