जब प्रचण्ड र बाबुराम भावुक बन्दै अँगालो हाले

प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

-शारदा शर्मा

दशैको रमझम सायद धेरै ठाउँमा ब्यस्त हुनुहुन्थ्यो उहाँहरु । साँच्चै भन्नु पर्दा प्रधानमन्त्री भएपछि प्रचण्डलाई शुभकामना समेत दिने समय मिलेको थिएन मलाई । दशैंको सप्तमीको सांझ हाम्रो घरमा खाना खाने पक्का भयो ।

खाना पकाउन म आफैं सौखिन पनि छु । बाबुरामलाई खाना खुवाउने यो पहिलो पटक थियो । तर प्रचण्डलाई यसभन्दा अगाडि पनि एकदुई पटक अवसर मिलेको थियो । उहाँले मेरो खानाको प्रसंसा पनि गर्नुहुन्थ्यो ।

म तयारीमा लागें । अहिले सवैलाई यौटा यौटा रोग सुगर, प्रेसर केही न केही हुन्छ नै । त्यसैले पनि खाना बनाउने र खुवाउनमा म अलि सचेत छु । इभिनिङ पाँच बजेतिर प्रधानमन्त्री घरमा आइपुग्नु भयो । त्यसको झण्डै पाँच मिनेट पछि बाबुराम पनि आउनुभयो ।

उहाँहरु एक अर्कोलाई देखेर अलि अलमल बन्दै हुनुहुन्थ्यो । त्यतिबेलै मैले भनें – ‘यो मेरो योजना थियो ।’

दुबै जना हाँस्नु भयो । पहिले जुस र पानीले स्वागत गरें । म उहाँहरुलाई खाना खुवाउने साथै संगै बसेर कुरा पनि गर्ने मनसायको साथ भान्सा नजिकैको बैठकमा बस्ने व्यवस्था गर्न शुभलाइ भनें ।

एकछिन हासी मजाक भयो । उहाँहरु दुबैजना रमाइलो हुनुहुन्छ । त्यतिबेलै प्रचण्डले भन्नु भो – ‘बाबुरामजी तपाईंले अहिले नै मलाइ छोडेर नयाँ शक्ति बनाउनु हुन्थेन ।’

हाँसो सुरु भो ।

‘तपाईँले पनि त पटक पटक मेरो कुरा सुन्नु भएन । दुई जनाबीचको सहमतिलाई पनि लत्याइदिनु भयो ।’

अचानक नयाँ नेपालको बहस हुँदै गर्दा दुवैजना भावुक बन्नुभयो । देशको बागडोर हाँकेको प्रधानमन्त्री र उही पार्टीमा लामो समय काम गरेर आर्थिक समृद्धिको नारा दिंदै निस्कनु भएको बाबुराम ।

सायद मैले चियामा चिनी राख्न भुलेछु थोरै चिनी थप्नुभयो दुबैजनाले । आजसम्म आफूभन्दा ठुलो कसैसँग पनि त्यति नजिक नबस्ने म उहाँहरुको नजिकै बसेर गफिदै थिएँ ।

शुभलाई त्यति कुरा गर्ने मुड नै थिएन जस्तो देखिन्थ्यो । उहाँ केही किताबको चांगका बीचमा अलमल गरिरहनु भएको थियो । पहिले त यस्तो थिएन । आज के के नमिले जस्तो लागिरहेको थियो । बच्चाहरु अनेक चकचकका कीर्तिमान बनाउंदै थिए अर्को कोठामा ।

लाग्थ्यो परिवार समाज र देशको परिवेससंगै मान्छेले आफुलाइ बदल्दै जान्छ । खुसी त्यहीँ छ जहाँ मान सम्मान ,सद्भाव र सांच्चै भित्र बाटै प्रतिबद्ध छ मान्छे । आर्थिक समृद्धिको कुरा गर्दै जाँदा सायद उहाँहरुले विगत सम्झिनु भयो । देशको लागि गरेको संघर्ष र बलिदानलाइ सम्झिदा उहाँहरुको आँखा टिलपिल भएको प्रस्ट हुन्थ्यो ।

‘मान्छेले विर्सनै नसक्ने विगत कसरी विर्सेको नाटक गर्न सक्छ ?’ –  मैले उहाँहरुलाई सोधें । दुबै जना यति चलाख र माहिर हुनुहुन्छ जवाफ नदिदै प्रधानमन्त्रीको पिएले उहालाई टाइमको सन्देश दिए । म टसमस भइन ।

झानेको आलु त्यति लिनु भएन । चिकेन अचार थप्दै मैले भनें -‘ एकपटक फेरी हामी मिल्न सक्छौं । पार्टीको नाम समाजवादी पार्टी राखौं । के फरक पर्छ ? अझैपनि मान्छेहरु बाबुराम प्रचण्डले नै देश समृद्ध बनाएको हेर्न चाहान्छन् ।’

दुनिया पढेको मेरो श्रीमानबाटै सायद मैले धेरै कुरा सिक्ने अवसर पाएकाले लाज नमानी दुई चार कुरा भन्न हिच्किचाहट लागेन । किन हो यसपटक म बढ्तै जान्ने जसरी पेश भएँ । उहाँहरु झनै भावुक बन्नु भयो ।

जुन संविधानको लागि उहाँहरु हातेमालो गरेर संघर्ष र क्रान्ति गर्नुभो । त्यो पूरा नहुँदै अलग हुनुभो । मैले सुन्थे सबभन्दा मिल्दोजुल्दो उहाँहरु नै हो । र अन्तर्विरोध हुने पनि उहाँहरुमै हो । आज किन मिल्न सक्नुहुन्न उहाँहरु ?

के परिवर्तन संगै उहाँहरुका चाहाना र भावना पनि बदलिए ? जनताले आफ्नो अधिकार पाए त ? हैन भने हिजो संघर्षको मैदानमा एकैसाथ हिडेका सहयात्रीहरु आज खुला परिवेशमा किन अलग ? के साँच्चै स्वार्थ मिलेन ? यति ठूलो रगत बगाएर स्थापित गरेको गणतन्त्र र संविधानलाई किन डिलमा लगेर धकेल्ने काम गर्दै हुनुहुन्छ दुवै जना ?

सायद मेरो प्रश्न मिलेन । एकअर्कोलाई हेर्दै दुवैजना चर्किनु भो ।

‘दुवैजनाको कुरा एउटै छ । तर बाटो फरक किन ?’  फेरि मैले सोधें ।

शुभले भन्नुभयो – ‘धेरै इरिटेड नगराउ न । बाबुराम प्रचण्डले हिजोपनि जनताको अधिकारको लागि संघर्ष गरे । आज पनि गर्दैछन र भोलि पनि गर्छन् ।’

कुरा यौटै छ फेरि ।

सायद पोलिटिक्स छोडेको लामो समय भएर पनि होला म नै अन्योलमा छु । मैले राजनीति बुझेकी छैन ।

बाबुरामको मान्छे आएर फेरि समय भन्न थाले ।

मेरो घरको वरिपरि प्रचण्ड र बाबुरामका सेक्युरिटी थिए । जताततै सेक्युरिटी देखेर गाउँका सबै रनभुल्ल थिए ।

‘दशैंको समय थोरै त लिऊँ’ भन्दै एकएक पेग ब्लुलेवल गिलासमा राख्दै शुभले पनि ‘समाजवादी पार्टी को नयाँ व्यानरमा एक हुनुको विकल्प छैन अन्यथा भविष्य अन्धकार रहेको’ चेतावनीको सन्देश दिए ।

फेरि आश्वस्त पारेजस्तो गरी ‘कमरेडहरु पाटीको नाम समाजवादी राखौ र सम्पुर्ण बामपन्थीको नेतृत्व गरौं’ भनेर हांस्नुभयो ।

मैले थपें – ‘हिजो संगसंगै हिडेका सबै साथीहरु दसतिर हुनुहुन्छ । उहाँहरु मात्र होइन, नेपालमा सम्पुर्ण बामपन्थी एकता गरेर पाटीको नाम चेन्ज गर्दा किन नहुने ? त्यसमाथि एमालेलाई समेत सँगै हिंडाउन नसके भविष्य त राम्रो देखिन्न ।’

फेरि हाँसो भयो ।

लाग्थ्यो माहोल हेर्दा अब नया शक्ति, एमाओवादी हैन सिंगो समाजवादी पार्टीको नेतृत्व हो यो । फेरि एकपटक देशले आर्थिक समृद्धिको नारा मात्र हैन आमुल परिवर्तनको बाहक बनेर आम बामपन्थीको मजबुत धरोहर बन्दैछन् बाबुराम प्रचण्ड ।

हिजो जे भयो त्यसले धेरै पाठ सिकायो । जीवन भनेकै सिक्दै जाने विश्वविद्यालय हो भन्दै बाबुरामले हात अघि बढाउनुभयो । प्रचण्ड फेरि भावुक बन्दै अब हाम्रो साथ हैन् हात र लक्ष्य एउटै हो भन्दै अंगालो मार्नु भयो ।

अचानक घण्टीको आवाज आयो । झल्याँस्स ब्यूझें । दुधवालाले घन्टी बजाएको रहेछ । ब्यूझिंदा त बिहानको सात बजिसकेछ ।

लाजिम्पाट, काठमाडौं ।

फोटो : पूर्वेली न्यूजबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com