Follow @khasokhasmag

सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

चैत ८, ललितपुर । अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् ।

आवास नहुँदा उनीहरुलाई एक/दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले बताइन् ।

स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको जानकारी दिंदै उनले भनिन् ‘गैरसरकारी संस्थाको प्रहरीसँग राम्रो सम्बन्ध हुँदा लिन मान्ने र नहुँदा गाह्रो हुन्छ ।’

जिल्लामा सरकारद्वारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापन कठिन भएको बताइन् । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्छन् । प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले भनिन् ‘स्थानीयवासीले प्रहरीलाई बुझाउँछन् तर हामीले कता पठाउने भन्ने समस्या छ ।’ ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् ।

आवास गृह नहुँदा हिंसाबाट पीडित अरु महिलालाई समेत समस्या भएको प्रहरीले बताउँदै आएको छ । रासस

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com