प्रधानमन्त्रीको सात मुख्यमन्त्रीसँग लगातार ६ घन्टा बैठक


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

मनोज सत्याल

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग लगातार ६ घन्टा बैठक गरेका छन्।

बुधबार बिहान सवा ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठक साँझ सवा ५ बजे सकिएको हो।

बैठकमा प्रदेश सरकारले भोग्नु परेका कर्मचारी, कानून र बजेट अभावका विषयमा सातै मुख्यमन्त्रीले आफ्ना धारणा राखेका थिए।

‘हामीले प्रदेश सरकारमा गाडी नभएकोदेखि केन्द्रबाट गएका कर्मचारी असहयोग गरेसम्मका कुरा सुनाऔं,’ बैठकपछि संवाददातासँग कुरा गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘केन्द्र र प्रदेश सरकारको तालमेल, राजश्व बाँडफाँडका विषयमा पनि छलफल भयो।’

बैठकमा केन्द्र सरकारका मन्त्रीसँगै प्रदेशका प्रमुख सचिवहरुको पनि उपस्थिति थियो।

केन्द्रीय मन्त्रीले आफ्नो मन्त्रालय मातहतका तहमा भएका समस्याबारे सुनाएका थिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार मुख्यमन्त्रीका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले यी सबै विषय समेटेर सरकारले चाँडै नै श्वेत पत्र जारी गर्ने बताएका छन्।

Source : Setopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com