प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई भने–आपसमा प्रतिष्पर्धा गर्नुस्


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशहरूबीच अब विकास गर्न प्रतिष्पर्धा हुनु पर्ने बताएका छन्।

सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुसँग बुधबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री ओलीले राम्रा कुरा गर्न प्रतिष्पर्धामा उत्रिन भनेका हुन्।

‘अब तपाईं आपसमा प्रतिष्पर्धा गर्नुस् फलानो प्रदेशभन्दा मेरो प्रदेश राम्रो छ भनेर,’ मुख्यमन्त्री र प्रमुख सचिवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘विकास नगर्ने र असफल हुने छुट हामीलाई छैन।’

उनले राजनीतिक क्रान्तिको चरण पुरा भइसकेको र अब विकासको चरण सुरु भएकाले कोही फरक राजनीति दल भएर केही फरक नपर्ने बताए।

‘हामी हामी एउटै विकास गर्ने दल भइसक्यौं,’ प्रधानमन्त्री ओलीले भने।

कर्मचारी अभाव, क्षेत्रीय कार्यालय खारेजलगायतका विषयमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका काम अहिले चार किसिमका समस्या रहेको बताए।

‘पहिलो कुरा कानुन नै छैन, धेरै कानून संघीय संसदले बनाउनु पर्छ, दोस्रो पूर्ववर्ती सरकारले क्षेत्रीय संरचनालाई यथावत् राखेकाले समस्या आएको छ,’ मुख्यमन्त्री राईले सेतोपाटीसँग भने, ‘तेस्रो कुरा कर्मचारीको अभाव छ र हामीसँग हामीसँग बजेट छैन पनि छैन।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com