यातायात कार्यालयमा भद्रगोल, सडकमै सवारी साधनको प्रदूषण जाँच


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ । कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि मंगलबारदेखि कार्यालय अगाडिको चक्रपथ सडकमै उक्त काम गर्न शुरु गरेको हो । यातायात कार्यालय अवस्थित आनन्दनगर टोलसुधार समितिले प्रदूषण जाँचका क्रममा निस्कने धुवाँले बस्तीको वातावरण दूषित भएको र सवारी साधनले सडक जाम भएको भन्दै अन्त सार्न माग गरेपछि कार्यालय परिसरबाट जाँच गर्ने काम सारिएको कार्यालयका नायब सुब्बा काजीबहादुर गिरीले बताए ।

प्रदूषण जाँचका लागि थप जग्गा भाडामा लिन कार्यालयले यातायात व्यवस्था विभागमा माग गरे पनि विभागले बजेटको कमी देखाउँदै टार्दै आएको कार्यालयले जनाएको छ । कार्यालयमा हाल दैनिक करीब १०० निजी सवारी साधनको उपकरणमार्फत प्रदूषणको मात्रा जाँच गरिन्छ ।

निजी सवारी साधन भएकाले जाँचमा लगभग सबै सफल हुने गरेको यातायात कार्यालयले जनाएको छ । जाँचपछि कार्यालयले ३५ रुपैयाँ लिएर सबै सवारी साधनलाई हरियो स्टिकर दिने गरेको छ ।

मासिक १० रुपैयाँ करोड कर

यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूमा सबै प्रकारका सवारी साधनबाट मासिक १० करोड रुपैयाँसम्म कर संकलन हुने गरेको छ । कार्यालयमा दैनिक २०० देखि ५०० सवारीधनीले कर बुझाउने गरेको लेखापाल सुदर्शन ढकालले जानकारी दिए । सवारी करबाट मासिक ७ देखि १० करोड रुपैयाँ राजश्व आम्दानी हुने गरेको छ ।

कर संकलनका हिसाबले मुलुकभरका यातायात कार्यालयमध्ये यो चौथो ठूलो कार्यालय भएको उनले जानकारी दिए । यातायात कार्यालयमध्ये सबैभन्दा बढी राजश्व संकलन काठमाडौँको एकान्तकुनास्थित कार्यालयमा तथा त्यसपछि काठमाडौँकै गुर्जुधारा र तेस्रोमा नारायणी अञ्चल यातायात कार्यालय रहेका छन् ।

सवारी साधनको कर बुझाउन चैतदेखि असारसम्म भने तुलनात्मक बढी चाप हुने गरेको छ । मुलुकभर हाल झण्डै २३ लाख विभिन्न प्रकारका सवारी साधन छन् । कार्यालयमा कर्मचारीको दरबन्दी १० जनाको रहेको उनले बताए ।

कार्यालयले गत वर्षमा ७३ करोड रुपैयाँ कर संकलन गरेको थियो भने यस वर्ष गत फागुन समान्तसम्म ७८ करोड ५२ लाख रुपैयाँ कर संकलन गरिसकेको छ । मुलुकभरका यातायात कार्यालयको कर संकलन गर्ने कम्प्युटर सफ्टवेयर फोकस वन नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको छ । मुलुकभरका यातायात कार्यालयमा कर संकलनमा सहयोग गर्न उक्त कम्पनीका १ सय १४ कर्मचारी कार्यरत छन् ।

विक्रम सम्वत् २०६६ देखि उक्त कम्पनीले यातायात कार्यालयको कर संकलनको सफ्टवेयर सञ्चालन गर्दै आएको लेखापाल ढकालले बताए । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com