नगरपालिकाका प्रमुखलाई १० लाख दे भन्दै हत्याको धम्की दिने २ जना पक्राउ


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत ५, रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका प्रमुखलाई फोनबाट हत्याको धम्की दिएर रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिने दुई जना ललितपुरको बालकुमारीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नगर प्रमुख यादवलाई धम्की दिने रौतहटको कटहरिया नगरपालिका बस्ने २५ वर्षीय मोहम्मद सम्सुल आलम र राजपुर नगरपालिका निवासी ४५ वर्षीय जुल्फिकर सेकलाई पक्राउ गरेको हो। नगरप्रमुख यादवले धम्की दिने व्यक्तिको मोबाइल नम्बरसहित जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएको १० दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको व्युरोका वरिष्ठ प्रहरी उपरीक्षक घनश्याम अर्यालले जानकारी दिए। पक्राउ परेका दुवैले ९८०३५९८१८०२ नम्बरबाट नगर प्रमुख यादवसँग १० लाख रुपैयाँ चन्दा माग गरेर नदिए हत्या गर्ने धम्की दिएका थिए। फोनबाट हामी २० लाख रुपैया दिन्छौँ, नगर प्रमुखबाट राजीनामा दे, नत्र हामीलाई १० लाख दे भन्दै आफुलार्इ धम्क्याएको नगर प्रमुख यादवले बताए। नगर प्रमुख यादवले भने उनीहरूले धम्की दिएपिच्छे प्रहरीलाई जानकारी गराउँदै आएका थिए। धम्की दिने समूहका दुई जना पक्राउ परेपछि वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवले कानुनी राज्यको अनुभूति भएको बताए। पक्राउ परेकालाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने उनले माग गरे। दैनिकजसो धम्की आउन थालेपछि नगर प्रमुख यादव र उनका परिवार आतंकित बनेका थिए। पक्राउ परेका दुवै जनालाई रौतहट जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com