रोग पाल्दै मुक्त हलिया महिला
प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार
–कृष्ण ओली–
बाजुरा । बिस्नकला ल्वारको पेटमा घाउ देखिएको एक दशक बित्यो । काम गर्दा दुख्छ, राती सुत्न सक्दिनन् । न त दिनमा हिँडडुल गर्न नै सक्छिन् । उनी दुखाई लुकाएरै काम गर्नु पर्ने बाध्यतामा छिन् ।
बुढीनन्दा नगरपालिका १, बस्ने बिस्नकला ल्वारको परिवारले घरेलु उपचार गरेका त हुन् । तर, घाउ निको हुनुको सट्टा बढ्दै गएको छ । अझै ल्वार दुखाई लुकाएर बसेकी छन् ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र बाँधु स्वास्थ्य चौकी आधा घण्टाको दुरीमा पर्छन् । त्यहाँ गएर उनले आफ्नो स्वास्थ्य समस्या बताएकी पनि हुन् । अल्सर भएको हुनसक्ने अनुमान गर्दै शल्यक्रिया गर्नु पर्ने भएकोले जिल्ला बाहिर जान स्वास्थ्यकर्मीले सुझाव दिए ।
साँझ बिहानको छाक टार्नै धौ–धौ हुने ल्वार परिवारले जिल्ला बाहिर गएर उपचार गर्ने सोचेकै छैनन् । श्रीमान अरुको हलो जोत्ने काम गर्छन् । आम्दानीको अन्य श्रोत कुनै छैन । बस्ने घर समेत अरुको नामको छ । ‘पैसा तिरेर उपचार गर्न हामीले कहाँ सक्छौं’ ल्वारले भनिन् ।
सोही ठाउँकै बिशु विकको पाठेघर खसेको छ । विक पाँच सन्तानकी आमा हुन् । सुत्केरी हुँदा आराम र पौष्टिक आहार पाइनन् । त्यो असर अहिले स्वास्थ्यमा देखिएको छ ।
‘पहिलो सन्तान जन्माएदेखि नै तल्लो पेट दुख्दै आएको थियो । पाठेघर खस्छ भन्ने थाहा थिएन । डेढ वर्षपहिले कोल्टीमा निःशुल्क स्वास्थ्य शिविरमा जचाउँदा थाहा भयो पाठेघर नै खसेको रहेछ’ उनले भनिन् ।
शिविरमा डाक्टरले थप उपचारको लागि नेपालगञ्ज आउने सल्लाह दिए । सस्तोमा उपचार गर्ने आश्वासन पनि पाएकी थिईन् । तर, गाडीभाडा जुटाएर नेपालगञ्ज जान नसक्दा रोग पालेर बस्नु परेको दुखेसो विकको छ ।
अहिले सरकारले पाठेघरको उपचार निःशुल्क पनि गरेको छ । यसबारे पनि बेखबर छन् उनी । खबर नै भए पनि उनको नजिकमा उपचार सेवा दिने स्वास्थ्य संस्था छैन । खर्च गर्ने रकम नभएपछि रोग पालेर बस्नु परेको उनले बताईन् ।
स्वास्थ्य अवस्था बारे ख्यालै नगरि कडा परिश्रम गर्र्ने र पौष्टिक आहारमा ध्यान नदिँदा विपन्न मुक्त हलिया महिलाहरू विभिन्न रोगबाट ग्रसित छन् । तर, उपचार खर्च अभावमा रोग पालेर बसिरहेका छन् । बाजुरा जिल्लामा शल्यक्रिया सेवा नै छैन । जिल्ला स्वास्थ्यमा सामान्य खालको सेवा सञ्चालन गरिए पनि भरपर्दो र प्रभाकारी छैन ।
विशु र बिस्नकला जस्तै ६२ वर्षकी घिरु ल्वारलाई तल्लो पेट दुख्ने समस्या छ । दुख्न सुरु भएको दुई दशक बढी भईसक्यो । ७ सन्तानकी आमा ल्वारसँग पनि नेपालगञ्जसम्म जाने यातायात खर्च छैन । त्यसैले रोग पालेर बसिरहेकी छन् ।
‘तीन सन्तान पाएदेखि नै तल्लो पेट दुख्न सुरु भएको हो । साँझ बिहान छाक टार्नका लागि पैसा पाउँदैनौ । अनि उपचार गर्नलाई कहाँबाट ल्याउने घिरुले भनिन् ।’ ल्वार दम्पत्ती दुवैजना मुक्त हलिया हुन् । यद्यपि उनीहरू साहुकोमा मजदुरी गरेर मात्रै दैनिक खानेकुरा जुटाउन सक्छन् ।
श्रीमान हलो जोत्ने र ल्वार घरको काम सघाउने गर्छन् । जुन कामबाट छोराछोरीको लानन पालन गरिरहेका छन् । बुढाबुढीको उमेर ढल्किँदै गएपछि छोराहरूले साहुको काममा सघाउने गरेका छन् । छोराछोरी पनि आर्थिक अभावले बीचमै विद्यालय छोडेर बसेका छन् ।
मुक्त हलिया महिला मध्ये अधिकांशको पाठेघर खसेको छ । त्यसबाहेक तल्लो पेट दुख्ने, आमाशयमा समस्या लगायतका समस्या लिएर उपचारका लागि आउने गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी देउमा धामीले बताईन् । उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर हुने र लामो समयदेखि रोग लुकाएर अन्तिम समयमा उपचारको लागि आउने गरेको धामीको भनाइ छ ।
उपचारमा जान नसकेपछि उनीहरू दुखाई कम गर्ने औषधी सेवन बस्छन् । धेरै दुखाई कम गर्ने औषधी सेवन गर्दा स्वास्थ्यमा थप जटिलता आउने गरेको धामीले बताईन् । उनका अनुसार कडा परिश्रम, धेरै सन्तान जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने जस्ता समस्या नै मुक्त हलिया महिलाका रोगको प्रमुख कारण हुन् ।
खर्च अभाव उपचारको बाधक
बाजुरादेखि नेपालगञ्ज आउन जान करिब १० हजार रुपैयाँ खर्च लाग्छ । बस्न खान र उपचार खर्च हिसाब गर्ने हो भने २० हजार रुपैयाँ कम्तीमा खर्च हुन्छ । जुन आम्दानी मुक्त हलिया महिलाले जुटाउन सम्भव छैन ।
अधिकांश मुक्त हलियासँग बस्ने घर समेत छैन । साहुकै भरमा बाँच्न पर्ने अवस्था छ । राज्यले मुक्त घोषणा गरेपनि उनीहरूको पुस्ताले लिएको ऋण र अन्न सापटीकै कारण पनि हलिया बस्नु पर्ने बाध्यता छ । आर्थिक रुपमा निकै विपन्न र कमजोर समुदायलाई उपचार टाढाको विषय बनेको छ ।
सरकारले पाठेघरको शल्यक्रिया निःशुल्क गरेको छ । यसबारे मुक्त हलिया बिशु विक बेखबर छिन् । खबर नै भए पनि उनको नजिकमा शल्यक्रिया सेवा दिने स्वास्थ्य संस्था छैन । खर्च गर्ने रकम नभएपछि रोग पालेर बस्नुको विकल्प छैन ।
राज्यले निःशुल्क स्वास्थ्य सेवा भने पनि त्यो कार्यान्वन छैन । दुर्गम क्षेत्रमा सामान्य खालको औषधी समेत सहज र सुलभ छैन । जसको मारमा गरिब तथा विपन्न परेका छन् । मुक्त हलिया महिलाले अझ बढी समस्या भोग्नु परेको छ ।
सन्तान बढी हुने, काम धेरै गर्नु पर्ने र स्वास्थ्य अवस्था कमजोर हुने हुँदा मुक्त महिलाहरूले रोगको सिकार बन्नु परेको जगन्नाथ गाउँपालिका प्रवक्ता डबल विकलले बताए । शल्यक्रिया गर्नु पर्ने खालको रोगको उपचारमा त झनै खर्च अभावले नै बढी समस्या पारेको विकको भनाइ छ ।
गम्भीर खालको रोग उपचारका लागि यहाँका बासिन्दाले धनगढी, नेपालगञ्ज र भारतका विभिन्न शहरमा जानु पर्ने बाध्यता छ । जिल्ला बाहिर गएर उपचार गर्न सक्ने हैसियत अधिकांश मुक्त हलियाको छैन । त्यसैले रोग लुकाई बस्नु बाहेकको विकल्प नभएको अधिकारकर्मी गोरख विकले बताए ।
समस्या एकातिर कार्यक्रम अर्कोतिर
मुक्त हलियाका नाममा लगानी गर्ने र कार्यक्रम सञ्चालन गर्ने निकाय दर्जनौं छन् । उनीहरूकै नाममा करोडौं रकम खर्च भईसकेको छ । गएको वर्षमा मात्र ६ करोड बढीको रकम नेपाल सरकारले मुक्त हलिया पुर्नस्थापनाका नाममा खर्च गरेको छ ।
तर, मुक्त हलियाका मुख्य समस्याको सम्बोधन हुन सकेको छैन । ‘मुक्त हलियाका मुख्य समस्या सम्बोधन गर्नुभन्दा अन्यत्र बजेटको खर्च भइरहेको अधिकारकर्मी बिकले बताए ।
सरकारका आय आर्जन, सचेतना, सीप हस्तान्तरण र पुनस्र्थापना कार्यक्रमका शिर्षक छन् । तर ती नामका कार्यक्रम हर्ताकर्ता कार्यकर्ता र टाठा बाठाका लागि ठिक्क छ । सरकारी र गैर सरकारी निकायमात्र पोषिएको आक्रोश मुक्त हलियाको छ ।
जिल्लामा स्वास्थ्य क्षेत्रमा पनि करोडौंको लगानी खर्च भईरहेको छ । राज्यले गर्ने लगानीमा समेत मुक्त महिलाका महिलाहरूको अधिकार देखिदैन । उनीहरूलाई सहुलियत सहितको उपचार र उपचारका लागि आर्थिक सहयोग कुनै निकायबाट हुन नसकेको स्थानीय पत्रकार प्रकाश सिंहले बताए ।
उनले भने, ‘वास्तविक समस्या र सवाल बारे कोही गम्भीर छैनन् । कार्यक्रमको लागि कार्यक्रम मात्रै गर्ने तर वास्तविक समस्या पहिचान नहुँदा उनीहरूले उपचार पाएका छैनन् ।’
समान समस्यामा मुक्त हलिया महिला
जिल्लामा १ हजार ७ सय बढी मुक्त हलिया रहेको तथ्याङ्क जिल्ला हलिया समाजसँग छ । तर प्रामाणिकरणमा भने १ हजार ३ सय ४५ जना परेका छन् । उनीहरूले क, ख, ग र घ वर्गको परिचय पत्र पाएका छन् । क र ख वर्गका लागि राज्यले पुनस्र्थापनाको कार्यक्रम पनि ल्याएको छ । बस्ने बासको ग्यारेन्टी गर्ने गरि कार्यक्रम सञ्चालन भईरहेको छ ।
घर जग्गा समेत नभएका र हलो जोतेर मात्र जीवन बिताएका मुक्त हलियालाई क वर्गमा राखिएको छ । हुने र पहुँच भएका व्यक्तिहरू पनि क र ख वर्गको सूचीमा छन् । त्यहाँ पनि विपन्न र कमजोर वर्गलाई समस्या नै पारिएको पत्रकार सिंह बताउँछन् ।
मुक्तपछि अधिकांशलाई खान र बस्नकै समस्या देखिएको छ । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तीको घोषणा गरेको हो । हलिया र सरकार बीचको सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, पुनस्र्थापनाको व्यवस्था, मुक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगायतका पाँच बुँदा उल्लेख गरिएको थियो । राज्यले सहमति कार्यान्वन नगर्दा मुक्त हलिया समुदायका महिलाहरूले बढी पीडा र समस्या भोग्नु परेको छ ।
(पत्रकार ओली बाजुरा जिल्लाबाट पत्रकारिता गर्छन् ।)