धादिङमा स्थानीय तहलाई सहकारीको जिम्मा लगाइयो


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत्र ५ धादिङ । धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण प्रक्रिया सुरु भएको छ । संघीय संरचनाअनुसार सबै स्थानीय तहले सहकारीको काम गर्ने भएपछि धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण गरिएको हो ।

अहिलेसम्म १० वटा गाउँपालिकालाई सहकारीसम्बन्धी आवश्यक सम्पूर्ण कागजातसहित आइतबार हस्तान्तरण गरिएको छ । सहकारी डिभिजन कार्यालय धादिङले सञ्चालन गरेको सहकारी ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रमका क्रममा गाउँपालिकाहरुलाई सहकारीको जिम्मा लगाइएको हो ।

धादिङ जिल्लामा कुल ४ सय २१ सहकारी संस्था रहेका छन् । जसमध्ये २ सय ७६ वटा सहकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव रघुराम विष्ट, सहकारी विभागका उप–रजिष्टार नारायणप्रसाद अर्याल, सहकारी अधिकृत चेतनाथ गिरीको रोहबरमा सम्बन्धित पालिकाहरुलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ ।

२ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा अहिलेसम्म १० वटा गाउँपालिकालाई सहकारी हस्तान्तरण गरिएको छ भने ३ खनियाबास गाउँपालिका, निलकण्ठ र धुनिबेशी नगरपालिकालाई सहकारी हस्तान्तरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com