फेसबुक, इमो र भाइबरबाट चिठ्ठाको लोभ देखाएर करोड ठग्‍ने गिरोह पक्राउ


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत ५, पोखरा । सामाजिक सञ्जालबाट उपहार पर्‍यो भन्दै ठगी गर्ने गिरोहमा संलग्नलाई कास्की प्रहरीले पक्राउ गरेको छ। फेसबुक म्यासेन्जर, इमो, भाइबरलगायतका सञ्जालबाट २५ लाखको चिठ्ठा पर्‍यो भन्दै त्यस बापतको कर रकम आइएमई मार्फत पठाउन भन्दै व्यक्तिसँग पैसा ठग्ने गिरोहका ९ जनालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।

सिंहका अनुसार ठूलो रकमको चिठ्ठाको प्रलोभन देखाएर पैसा असुल्ने गिरोहमा संलग्नले १ करोड ३९ लाख ठगी गरेका छन्। उनीहरूबाट ८८ जना भन्दा बढी व्यक्ति ठगिएको एसपी सिंहले बताए।

प्रहरीका अनुसार ३ वटा घटनामा संलग्न भएकामध्ये ९ जना पक्राउ परेका हुन्। यो कार्यमा अरु पनि संलग्न रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ। घटनामा पीडित भएकाहरूले उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो।

पक्राउ पर्नेमा पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेका २६ वर्षीय यामबहादुर मगर , धादिङ नेत्रवती गाउँपालिका १ का २८ वर्षीय ठाकुर गुरुङ, सोही ठाउँका २८ वर्षीय गणेश गुरुङ, १९ वर्षीय मनोज तामाङ, धादिङ खनियावास गाउँपालिका ५ का २६ वर्षीय टेकबादुर तामाङ, सोही ठाउँका २४ वर्षीय जेनिस तामाङ छन्। मगर पाल्पा र अन्य सबै पोखराका विभिन्न ठाउँबाट पक्राउ गरेका हुन्।

त्यसैगरी महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिका ९ का ३५ वर्षीया कामनी तिवारी र सोही ठाउँका ४५ वर्षीय योगेन्द्र तिवारी छन्। उनीहरूलाई धनुषाबाट पक्राउ गरिएको हो। पक्राउ परेका ९ जनालाई चैत १ र २ गते पक्राउ गरिएको एसपी सिंहले जानकारी दिए।

पक्राउ परेकाहरुले व्यक्तिलाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी चिठ्ठा परेको रकमको कर तिर्नुपर्ने, छोराछोरी र परिवारको नाममा सुनका गरगहना, सामान विदेशबाट पठाएकोले त्यसको कर नतिरेको हुँदा समान भारतको बोर्डरमा रहेकोले कर तिर्न आइएमईमार्फत पैसा पठाउन लगाउने त्यसपछि सम्पर्क नगर्ने गरेको पीडितले बताएका छन्।

पक्राउ परेकालाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए।

यसैबीच, पोखरा २५ हेम्जाबाट प्रहरीले पोखरा सिद्धार्थचोक बस्ने १८ वर्षीय विकास सुवेदीलाई २२ सेट लागू औषधसहित पक्राउ गरेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com