आगलागीका घटना बढ्दै, दमकल नहुँदा नियन्त्रणमा समस्या
प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार
चैत ४, परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित जमुवाडमा रहेको प्लाइउड उद्योगमा आगलागी भएपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले नियन्त्रण गर्न विभिन्न स्थानीय तहमा फोन गरी दमकलको खोजी गरे। रामग्राम नगरपालिकामा रहेको एउटा दमकलले नियन्त्रण गर्न नसकेपछि प्रजिअ रानाले जिल्लाका अन्य स्थानीय तहमा दमकलबारे सोधपुछ गरे पनि कहीं नभएको जवाफ पाए।
जनशक्तिसहित आगो नियन्त्रणका लागि उनले मातहतका सबै सुरक्षा निकायलाई तत्काल परिचालन गरे। थप दमकल रूपन्देही जिल्लाबाट मगाए। सुरक्षाकर्मी र उद्योगका कर्मचारीसहित बुटवल उपमहानगरपालिकाबाट आएको दमकलले इभर ग्रिन बम्बु इन्डस्ट्रिजमा लागेको आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन पाएन। उद्योगमा दाउराबाट केमिकल तताइरहेका बेला नजिकै रहेको विद्युत् ट्रान्समिटरमा आगोले टिपेपछि विद्युत् सर्ट भई उद्योगमा आगलागी भएको थियो।
आगलागीका घटना हिजोआज बढेको छ। तराईमा चैत वैशाखमा हावाहुरीसहित आगलागीका घटना बढी हुने गरेको हो। यस वर्ष पनि चैत लाग्नै लाग्दा आगलागीका घटना बढ्न थालेको छ तर दमकल नहुँदा नियन्त्रणमा समस्या छ। गत आइतबार पनि पाल्हीनन्दन गाउँपालिका( १ सुनरी गाउँका दुई स्थानीयको घरमा आगलागी भएको थियो। किरा धपाउन राखेको आगो मध्यरातमा सल्किँदा आगलागी भएको थियो। तत्काल दमकल मगाउन सम्भव नभएपछि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।
तीन नगरपालिका र चार गाउँपालिका रहेको पश्चिम जिल्लामा रामग्राम नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहमा दमकल छैन। कर्मचारीको तलब र इन्धनमा बढी खर्च हुने भएकाले दमकल राख्न नसकिएको स्थानीय तहले जनाएका छन्। दमकल खरिद गर्न कम्तीमा ५० देखि ६० लाख बढी लाग्ने र सञ्चालन खर्च बढी हुने भएकाले धेरै स्थानीय तहले दमकल व्यवस्था गर्न नसकेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए।
दुईवटा दमकल रहेको नगरपालिकामा अर्को दमकल छ। तर चार वर्षअघि बिग्रिएको अवस्थामा पुगेको दमकल जीर्ण अवस्थामा रहेकाले मर्मतको सम्भावना नरहेको गुप्ताले बताए। ‘हात्ती पाल्नुभन्दा बढी गाह्रो दमकल राख्नु रहेछ। एउटा दमकलको समेत खर्च धान्न मुस्किल भएको अवस्थामा अर्को राख्नका लागि नगरपालिकाले सोच बनाएको छैन’, उनले भने।
सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले दमकलको आवश्यकता महसुस गरिएकाले नगरपालिकाले त्यसतर्फ सोच बनाएको बताए। नगरपालिकामा तत्काल बजेट अभाव रहेकाले दमकलमा सहयोग गर्न केही दातृ निकायसँग अनुरोध गर्ने उनले बताए। सहयोगी दाताहरू नभए अर्को वर्षसम्म नगरपालिकाले दमकल सञ्चालनमा ल्याउने थापाको भनाइ छ।
सेवाको भावनामा सञ्चालन हुने दमकललाई सञ्चालन गर्न खर्च बढी लाग्ने भएकाले पनि त्यसको व्यवस्था गर्न स्थानीय तह हिच्किचाउने प्रजिअ रानामगरले बताए। उनले तराई क्षेत्रमा हावाहुरीको समयमा आगलागीका घटना बढी हुने भएकाले स्थानीय तहले संयुक्तरूपमा दमकलको व्यवस्था गर्न सके आगलागीबाट हुने क्षतिमा धेरै कमी हुने बताए। दमकल खरिदका लागि भन्सार छुट रहेको उनले बताए।
यस क्षेत्रमा आगलागी हुनुमा विद्युत् सर्ट, चुलो ननिभाउनु, मच्छर र किरा धपाउन तथा खाना बनाउन घर बाहिर आगो बाल्दा बढी आगलागी भएको पाइएको छ। दक्षिण क्षेत्रमा सबैभन्दा आगलागीका घटना हुने भएकाले गाउँपालिकाहरूले संयुक्त लगानीमा दमकल ल्याउने सोच बनाएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए। आगलागी हुनेबित्तिकै परासी र रूपन्देहीबाट दमकल मगाउँदा समय लाग्ने भएकाले सरावल र आफ्नो गाउँपालिकाले दमकल खरिद गर्न छलफल गरिरहेको शर्माले बताए।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत वर्ष करिब ६० भन्दा बढी आगलागीका घटना भएका छन्, जसमा कच्ची घर र गोठमा बढी र केही गहुँबालीमा छन्।






