हार्डवेयर पसलमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, लहान । सप्तरीको उत्तर पूर्वी क्षेत्रमा पर्ने सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुर बजारमा रहेको एक हार्डवेयर पसलमा शनिबार अपरान्ह आगलागी भएको छ। पसल सञ्चालक दीनानाथ रौनियारको परिवार काठमाडौंमा रहेकाले आगलागीबाट क्षतिको एकीन विवरण नआएको इलाका प्रहरी कार्यालय फत्तेपुरले जनाएको छ।यद्यपि पसलमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन्। रौनियारको हार्डवेयर पसल रहेको घरको तल्लो तलामा आगलागी हुँदा पसलका प्लाष्टिकका सम्पूर्ण सामान जलेका छन् भने निर्माणमा प्रयोग गरिने हार्डवेयरका अन्य सामानसमेत जलेर काम नलाग्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ। अपरान्ह करिब ३ बजेतिर लागेको आगो स्थानीय बासिन्दासहित प्रहरी, सदरमुकाम राजविराज, हुनमाननगर कंकालिनी र उदयपुरको चौदण्डी नगरपालिकाबाट पुगेको वारुण यन्त्रको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले भने घटनास्थलमा प्रहरी र वारुणयन्त्र ढिलो पुगेकाले बढी क्षति भएको गुनासो गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com