खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १३ घर जलेर नष्ट


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका(२ वतराईटोलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी १३ घर खरानी भएका छन् । आगलागीबाट आठ परिवारका १३ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

घटनामा ५२ लाखभन्दा बढीको क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार स्थानीय नेपोल सरदारको घरमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो ४ बजे ग्यास सिलिन्डर विस्फोट भएर आगो आगलागी सुरु भएको थियो । आगो राति अबेर मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सिलिन्डर पड्किएर आगो लाग्न सुरु भएसंगै नेपोलका छिमेकीको घरमा पनि आगोले भेटेको थियो । आगोले उनको एक तले फुसको छानो भएको तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । छिमेकीहरु गोपाल सरदार र महाविर सरदारको घर पनि जलेको छ । खनिलाल सरदारको दुईवटा, सन्तोषीया सरदारको दुईवटा, ननुलाल सरदारको तीनवटा, रामप्रसाद सरदारको दुईवटा घर आगोले जलेर पूर्णरुपमा नष्ट भएको प्र. निरीक्षक कटवालले बताए । मुनी सरदारको घरमा संचालन गरिएको किराना पसलसमेत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

स्थानीय महावीर सरदारले अचानक विस्फोटको ठूलो आवाज आएसंगै सल्किएको आगोले वस्ती नै खरानी बनाइदिएको बताए । हावा चलिरहेका कारण आगो नियन्त्रणमा कठिनाई हुँदा आठ परिवारको १३ घर पूर्ण रुपमा जलेर खरानी भएपछि मात्रै आगो नियन्त्रणमा आएको सरदारले जानकारी दिए । आगोबाट घरमा रहेका खाद्यान्न, कागजपत्र, अन्नपात, लत्ताकपडा, नगद र गरगहना केही पनि बचाउन नसकिएको गुनासो गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागीबाट घरबार बिहीन भएकाहरु चौरमा त्रिपाल टाँगेर बसिरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि पाँचवटा दमकल, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए । तर घरहरु जलेर पूर्ण रुपमा नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगोले जलेर स्थानीयले पालेका सुँगुर र खसी लगायत १४ चौपाय मरेका छन् ।

आगलागी पीडितलाई रेडक्रस, सुन्दहरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकाले राहत स्वरुप खाद्यान्न, लत्तापकडा, त्रिपाल र कम्बल वितरण गरेका छन् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com