अमेरिकाको टेक्सासमा आइस थुनुवा केन्द्रबाहिर प्रहरी र प्रदर्शनकारीबीच झडप
प्रकाशित मिति : माघ १४, २०८२ बुधबार
फोटो : एपी/रासस
अमेरिकाको टेक्सासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। टेक्सास राज्यस्थित आप्रवासन थुनुवा केन्द्रबाहिर प्रदर्शनकारी र राज्य प्रहरीबीच यो झडप भएको हो।
उक्त केन्द्रमा मिनेसोटाबाट गत साता आप्रवासन अधिकारीहरूले नियन्त्रणमा लिएका एक ५ वर्षीय बालक र उनका बुबालाई राखिएको छ।
आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का अधिकारीहरूले २० जनवरीमा मिनियापोलिसबाट ५ वर्षीय लियाम रामोस र उनका बुबा एड्रियन अलेक्जेन्डर कोनेहो आरियासलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई टेक्सासको डिलीस्थित थुनुवा केन्द्रमा सारिएको थियो।
केही सांसदहरूले उक्त केन्द्रको निरीक्षण गर्दै बाबु-छोरालाई थुनामा राखिएको विषयको विरोध गरेका छन्। उनीहरूले ट्रम्प प्रशासनलाई हिरासतमा राखिएकाहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्। टेक्सासका डेमोक्र्याट सांसद जोआक्विन क्यास्ट्रो र जास्मिन क्रकेटले केन्द्रभित्रै पुगेर बाबु-छोरालाई भेटेका छन्।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले ती दुवै जना गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको दाबी गरेको छ। तर, परिवारका वकिलले भने उनीहरूले शरण (असाइलम) माग्नका लागि सबै कानुनी प्रक्रिया पूरा गरेको बताएका छन्।
टेक्सासको थुनुवा केन्द्रबाहिर प्रहरी अधिकारीहरू प्रदर्शनकारीहरूलाई रोक्न पङ्क्तिबद्ध भएर उभिएका थिए। सार्वजनिक भएको एक भिडियोमा अधिकारीले भीडतर्फ केही वस्तु फ्याँकेको देखिन्छ, जसलगत्तै ठूलो आवाज सुनिएको थियो। प्रदर्शनकारीहरू चिच्याइरहेका, सिटी फुकिरहेका र हर्न बजाइरहेका देखिन्थे।
५ वर्षीय रामोसलाई आइस अधिकारीहरूले नियन्त्रणमा लिँदाको घटनाबारे परस्पर विरोधी विवरणहरू बाहिर आएका छन्। यद्यपि, सामाजिक सञ्जाल ‘एक्स’ मा आइसले बालकलाई थुनामा नराखिएको दाबी गरेको छ।
आइसले लेखेको छ “बाबुले बालकलाई चिसो ठाउँमा छोडेर भागेपछि ती बालकलाई सुरक्षित गरिएको हो; पक्राउ गरिएको भन्ने सूचनामा कुनै सत्यता छैन। आइसले परिवारका अन्य सदस्यहरूलाई बालकको जिम्मा लिन पटक-पटक आग्रह गरे पनि उनीहरूले अस्वीकार गरे। बाबुले नै बालक आफूसँगै रहोस् भन्ने चाहना राखेका हुन्।”
परिवारका तर्फबाट प्रतिनिधित्व गरिरहेका वकिल मार्क प्रोकशले सन् २०२४ मा इक्वेडरबाट अमेरिका आउँदा बाबु-छोराले “सबै सही प्रक्रिया अपनाएको” दाबी गरेका छन्।






