अब नेपाल पनि क्रिकेटको देश!


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

हेमन्त काफ्ले

सगरमाथा र बुद्धको देशका रूपमा चिँनिदै आएको नेपालले अब नयाँ पहिचान पाएको छ- नेपाल अब क्रिकेटको देश।

जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई हराउनु र नेदरल्याड्सले हङकङलाई पराजित गर्दै आफू अनुकुल नतिजा आएपछि बिहिबार नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाउँदै सुनौलो अक्षरमा आफ्नो इतिहास लेखाएको छ।

जब इतिहास रचिँदै जान्छन् तब पहिचान पनि फेरिँदै जान्छन्। यस पटक नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एक दिवसीय मान्यता हात पारेपछि यतिखेर नेपाल क्रिकेटको देशका रुपमा चिनिएको छ।

स्थापना कालको पाँच दशक यात्रामा आरोह अवरोह बोकेको नेपाली क्रिकेटले आफ्नो लक्ष्य भेट्टाउन निकै लामो संघर्ष गर्नुपर्‍यो।

बदलिदो परिस्थितिमा खेलकुद मुलुक चिनाउने महत्वपूर्ण माध्यम पनि हो। अर्जेन्टिनाको राष्ट्रपतिको नाम सोध्नुस् धेरैलाई थाहा नहुनसक्छ तर, अर्जेन्टिनाका फुटबल खेलाडीको नाम सोध्नुभयो भने बच्चा बच्चाले म्याराडोना र मेसीका नाममा सहजै उत्तर दिन्छन्। यसै सन्दर्भमा खेलाडी मुलुकका सद्भावना राजदूत पनि हुन्।

यतिखेर पारस खड्काको नेतृत्वमा रहेको नेपाली क्रिकेट टोलीले मुलुकको पहिचान जोड्ने काम गरेको छ। जिम्बाम्बेमा पाएको सफलताले नेपाल विश्व क्रिकेटको शीर्ष १६ राष्ट्र भित्र परेको छ। पहिलो पटक बरियताक्रममा नेपालको नाम अडिँदै गर्दा हामी सबै नेपालीको शिर गर्वले फुलेको छ।

नेपाली खेलक्षेत्रमा यो भन्दा ठूलो सफलताको कथा बुनिएको छैन। विधान लामाले ओलम्पिकको प्रर्दशन खेलमा कास्य पदक जित्दा होस् या दिपक बिष्टले साफ खेलकुदमा चार स्वर्ण जित्दै गर्दा मार्शल आर्टमा कहलिएको हाम्रो देश यतिखेर क्रिकेटको सफलताको गाथामा रंगिएको छ ।

खारेजीमा रहेको क्रिकेट संघ र बिचौलियाहरूको मनोमानी अनि खेलकुद परिषदको राजनीतिक खिचातानीका बाबजुद नेपाली क्रिकेट खेलाडीले आफ्नै मिहेनत र पसिनाले दिलाएको यो सफलता साच्चीकै गर्व गर्न लायक छ।

यो सफलतामा पर्दा पछाडिका नायक प्रमुख प्रशिक्षक जगत टमाटा पनि बिर्सन नहुने नाम हो क्रिकेटमा।

करिब तीन वर्षदेखि आपसी कलहमा फसेको नेपाल क्रिकेट संघ र यसका पदाधिकारी अनि खेलकुदमा राजनीति मिसाउने खेलकुद परिषदलाई यतिखेर लाज लाग्नुपर्ने हो।

आइसीसीको तजबिजमा बाँचेको नेपाली क्रिकेटले यतिखेर सफलताको नयाँ ढोका खोलिदिँदा नेपाली खेलक्षेत्रनै रोमान्चक बनेको छ। एक दिवसीय वरियतामा उक्लदाँ नेपाली क्रिकेटमा अब धेरै सम्भावनाको ढोका खुल्नेछ।

विश्वस्तरीय प्रतियोगिता मात्र होइन विकास र बिस्तारको बजेटमा पनि निकै ठूलो सहयोग उपलब्ध हुनेछ।

कहिले काँही सम्झना आउँछ- क्रिकेट संघलाई लामो समय नेतृत्व दिएका स्वर्गिय जयकुमार नाथ शाहले भन्थे, ‘हामी कहाँ पनि तेन्दुलकर होइन भेषवाकर छन्। यीनले कुनै दिन एक दिवसीय क्रिकेट खेलेर नाम राख्नेछन्।’

चालिस वर्ष क्रिकेट संघका अध्यक्ष रहेका शाह अहिले यस धर्तीमा छैनन् तर, भेषवाकरहरू भने विश्व क्रिकेटमा उत्रने पक्का भएको छ।

सन् १९९६ मा एशोसियट सदस्यका रूपमा विश्व क्रिकेटमा भित्रिएको नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप समेत खेलिसकेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com