अपांगता भएकी महिला दाजुबाटै बलात्कृत, लोग्नेबाट घर निकाला


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

–महिला खबर–

ललितपुर । बझाङको खप्तड छान्ना गाउँपालिकाकी सुनिता (नाम परिवर्तन) जन्मजात अपांगता हुन् । अर्थात उनको कम्मर भन्दा तलको भाग चल्दैन । २१ वर्षीया उनी हात टेकेर हिँडडुल गर्छिन् । कसैले दिए खान्छिन्, नत्र भने भोकभोकै ।

अपांगता भएकै कारण लेखपढ गर्ने अधिकारबाट बञ्चित भइन् उनी । गरिव अनि अशिक्षित परिवारमा अपांगता भएर जन्मिनु नै उनका लागि अभिसाप बनिदियो । जसका कारण उनले लेख्ने पढ्ने अवसर पनि गुमाइन् । जीवन सहज ढंगले जीउन पाउने अधिकारमा समेत बारम्बार प्रहार भइरह्यो– परिवार, आफन्त र नातेदारबाटै । सुनितामाथि जन्मिदै सुरु भएको विभेदको श्रृंखला जीवनका दुई दशक पार गर्दा समेत जारी छ । र अन्त्य कहिले हो कुनै टुंगो छैन ।

दाईबाटै बलात्कार

सुनितालाई आफ्नो उमेर ठ्याक्कै यति नै हो भन्ने थाहा छैन । किनकी उनकी आमालाई नै छोरीको उमेर थाहा छैन । त्यस्तै १७–१८ वर्षको उमेरमा सुनिता नाताले दाई पर्ने रुपक रोकायाबाट बलात्कृत भइन् । कसैलाई भने मारिदिने धम्की दिएका कारण उनले घटना सार्वजनिक गरिनन् । हाड नाताभित्र भएको बलात्कारको कुरा कसैलाई थाहा भएन ।

आफूमाथि अन्याय भएको कुरा उनले न त बुझिन्, न कसैलाई भन्ने आँट नै गरिन् । पेट बढ्दै गएपछि एक कान दुई कान मैदान भो । घटना बाहिर आयो । सुनिताकी आमाले छोरीलाई रुपकको घरमा बुझाइदिइन् । छिमेकी सबैलाई भेला गराइयो । सुनिता र सुनिताबाट जन्मिएको शिशुको जीवनभर पालन पोषण रुपक र रुपकको परिवारले गर्ने सहमतिमा २०७१ साल जेठ १९ गते तमसुक बनाइयो । नेपाली कागजमा लेखिएको यो तमसुक अधिवक्ता कुबेरसिंहले बनाइदिएका छन् । घटना सामसुम भो । त्यसको केही समयमा सुनिताले जिल्ला अस्पताल बझाङमा छोरा जन्माइन् ।

सुत्केरीमै जवरजस्ती विवाह

सुनिताबाट छोरा जन्मिएको कुरा आफन्त, नातागोता सबैले थाहा पाए । सुनिता अस्पतालमै थिइन् । बझाङको देउलेखका एक विवाहित पुरुष सुनितालाई श्रीमती र उनको छोरालाई छोरा स्वीकार्न अस्पतालमै पुगे । घरकी श्रीमतीबाट छोरी मात्रै जन्मिएपछि बिरक्तिएका उनले छोराका लागि सुनितालाई श्रीमती बनाएर सुत्केरी अवस्थामै घर भित्र्याए ।

आफूलाई श्रीमती बनाएर लिएका लोग्ने मान्छे को हुन्, कस्ता मान्छे हुन् सुनितालाई अहिले पनि केही जानकारी छैन । सुनितामाथि भएको हाडनाता करणीको घटनाले गाउँकै बेइज्जत भयो भन्दै आफ्नै आमा र आफन्तले नवजात शिशुसहित अपरिचित पुरुषको जिम्मा लगाए । उनी उम्कने कहीँ कतै ठाउँ थिएन । प्रतिकार त उनका लागि टाठाको विषय । त्यसैमाथि श्रीमती बनाएर लिएका पुरुषले पनि एक महिना नबित्दै घर निकाला गरे । छोरा भने आफैसँग राखे । तिमी माइती जाऔ भन्दै बसमा राखिदिए ।

लोग्ने भनिएको मान्छेले यो बस तिम्रो माइती घरमै जान्छ । केही दिन माइती बस, म लिन आउछु भन्दै बसमा चढाइदिए । माइती कता हो, के हो समेत उनलाई जानकारी थिएन । उनी चढेको बस त अर्को दिन कञ्चनपुरको महेन्द्रनगर पुगेछ । महेन्द्रनगर बसपार्कमा पुगेपछि बस रोकियो । सबै यात्रु आ–आफ्नो बाटो लागे । उनी अलपत्र परिन् । सुनितालाई अलपत्र अवस्थामै बसपार्कमा एक जना आफन्तले भेटे । तिमी यहाँ कसरी आयौ ? भन्दा लोग्नेले माइती पठाएको जवाफ दिएपछि आफन्तले उनीमाथि धोका भएको थाहा पाए । अनि फेरि आफैले टिकट काटिदिएर सुनितालाई बझाङ् फिर्ता पठाइदिए ।

सुनिता यतिबेला बझाङ्मा आमासँग छिन् । आफन्त, नातागोताबिच हेलाको पात्र भएर कष्टकर जीवन बाँचिरहेकी छन् । सुनिताले गहभरी आँसु पार्दै भनिन्, ‘आमाले समेत तेरा दुई–दुई लोग्ने छन् । उनीहरूकै घरमा जा । म पाल्न सक्दिन भन्छिन् । म कहाँ जाऔं ?’

सुनिताले अहिलेसम्म पनि छोराको मुख देख्न पाएकी छैनन् । तर उनलाई छोरा आफैसँग राख्ने इच्छा ठूलो छ ।

अपांगता परिचय पत्र छ, भत्ता छैन

२०६८ सालमा सुनिताले ‘ख’ वर्गको परिचय पत्र पाइन् । अति अशक्त अपांगता अन्तरगत सामाजिक सुरक्षा भत्ता पाउदै आएकी थिइन् । छोरा जन्मेर अस्पतालबाटै सुनिताको बिहे भइसक्यो भन्ने थाहा पाएपछि तत्कालिन गाविस सचिव नरेश बाबु स्नेहीले सामाजिक सुरक्षा भत्ता पाउने नामबाट सुनिताको नाम काटिएदिए । अहिले उनी त्यही भत्ता समेत पाउदिनन् । उनीसँग अपांगता परिचय पत्र छ, भत्ता भने पाउँदिनन् ।

गाविस सचिव नरेश बाबु स्नेहीले महिला खबरसँग भने, ‘उहाँको अर्को गाउँमा बिहे भयो भन्ने थाहा पाएपछि सामाजिक सुरक्षा भत्ता पाउने नामबाट नाम काटिएको हो । मेरो नियत गलत होइन ।’

सहयोगको खाँचो

सुनिताका बुबा उनी सानै छँदा आमालाई छोडेर अर्की श्रीमतीसँग अर्कै गाउँमा बस्छन् । आमालाई पनि पेट गुजारा गर्न मुस्किल छ । त्यसैमाथि अपांगता भएकी छोरी र उनीमाथि भएको अपराधले आमा पनि सकेसम्म छोरीलाई सँगै राख्न चाहदिनन् । किनभने टोल छिमेकमा हाडनाताभित्रै भएको करणी र उनीबाट जन्मेको छोराको बारेमा नकारात्मक टीका टिप्पणी भइरहन्छ । नराम्रो छोरीको उदाहरण दिनुपर्दा सुनिता नै उदाहरणको पात्र बन्छिन् । जुन कुरा आमा सुन्नै चाहन्नन् ।

सुनिताको पृष्ठभूमि, उनीमाथि भएका श्रृंखलावद्ध हिंसाका घटना हेर्दा सुनिता जोखिममा छिन् । उनीमाथि कतिबेला के हुन्छ भन्ने कुरामा आमा पनि चिन्तित छन् । सुनिता पनि सहयोगको पर्खाइमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com