हिराको हार घुस लिएको अभियोगमा दक्षिण कोरियाकी पूर्व प्रथम महिलालाई जेल सजाय


प्रकाशित मिति : माघ १४, २०८२ बुधबार

दक्षिण कोरियाकी पूर्व प्रथम महिलालाई जेल सजाय सुनाइएको छ। हाल जेलमा रहेका पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम केओन-हीलाई घुस लिएको अभियोगमा एक वर्ष आठ महिना कैद सजाय सुनाइएको हो।

यो उनीमाथि चलिरहेका तीन आपराधिक मुद्दामध्ये एउटा मात्र हो। यस फैसलाविरुद्ध अपिल गर्ने अधिकार अभियोजन पक्ष र किमको कानुनी टोली दुवैलाई छ।

अदालतले विवादास्पद धार्मिक समूह ‘युनिफिकेसन चर्च’ बाट ‘च्यानेल’ ब्रान्डको ब्याग र ‘ग्राफ’ ब्रान्डको हिराको हार लगायतका घुस स्वीकार गरेको आरोपमा किमलाई दोषी ठहर गरेको हो।

तर, सेयर हेरफेर गरेको, पतिसँग मिलेर निःशुल्क जनमत सर्वेक्षण लिएको तथा दोस्रो च्यानेल ब्याग लिएको आरोपमा भने पर्याप्त प्रमाण नभएको र मुद्दा दायर गर्ने समयसीमा सकिएको भन्दै उनलाई निर्दोष ठहर गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियोजकका अनुसार सेयर, घुस र सर्वेक्षणको कुल मूल्य झण्डै ८ लाख १३ हजार अमेरिकी डलर बराबर थियो। सियोल जिल्ला अदालतका न्यायाधीश ऊ इन-सङले फैसलामा किमले आफ्नो हैसियतलाई नाफा कमाउने माध्यमका रूपमा दुरुपयोग गरेको उल्लेख गरेका छन्। विशेष लाभसँग जोडिएर दिइएका महँगा विलासी सामग्रीहरू अस्वीकार गर्न नसकेको अदालतको ठहर छ।

यद्यपि, न्यायाधीशले किमले ती उपहारहरू नमागेको र चर्चको कुनै पनि माग पतिसम्म नपुर्‍याएको समेत बताएका छन्। यो पूर्व राष्ट्रपति दम्पतीका लागि पछिल्लो ठूलो धक्का हो। दुवैले बारम्बार कुनै पनि गलत काम नगरेको दाबी गरे पनि किमले युनिफिकेसन चर्चबाट च्यानेलका ब्यागहरू पाएको कुरा भने स्वीकार गरेकी छन्।

युन सुक-योल सन् २०२४ मा छोटो समयका लागि सैनिक शासन (मार्शल ल) घोषणा गरेको आरोपमा विद्रोहसम्बन्धी मुद्दाको सामना गरिरहेका छन्। गत अगस्टमा विशेष अभियोजकद्वारा उनलाई पक्राउ गरिएको थियो। अभियोजन पक्षले विभिन्न अभियोगमा उनलाई १५ वर्ष कैद सजायको माग गरेको छ।

सुरुदेखि नै किम परम्परागत अर्थमा ‘साधारण’ प्रथम महिला थिइनन्। सन् २०१२ मा युनसँग विवाह गर्दा उनी कला क्षेत्रमा सक्रिय थिइन् र आफ्नै प्रदर्शनी एजेन्सी स्थापना गरिसकेकी थिइन्। त्यतिबेला युन राजनीतिमा प्रवेश नगरी अभियोजककै रूपमा कार्यरत थिए।

प्रथम महिला बनेपछि किमको सार्वजनिक उपस्थिति निकै भड्किलो देखियो। विदेश भ्रमणका क्रममा उनका आकर्षक पहिरनले देशभित्र प्रशंसा र आलोचना दुवै पाएका थिए। तर, युनको राष्ट्रपतिको उम्मेदवारीकै क्रममा किमको आचरणबारे शंकाहरू उठ्न थालेका थिए।

सन् २०२१ मा उनले आफ्नो वैयक्तिक विवरण (बायोडाटा) बढाइचढाइ गरी प्रस्तुत गरेको भन्दै माफी मागेकी थिइन् र पतिले चुनाव जितेमा आफू “पत्नीको भूमिकामा मात्र केन्द्रित रहने” प्रतिबद्धता जनाएकी थिइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com