२० वर्ष पुराना ६२ वटा गाडी आजदेखि सरकारको नियन्त्रणमा


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, यातायात व्यवस्था विभागले गरेको अनुगमनबाट ६२ वटा २० वर्ष पुराना गाडी आज सरकारी नियन्त्रणमा आएका छन्।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरू २ वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्नुपर्ने निर्णय गरेको थियो। त्यहीअनुसार विभागले आज बिहानदेखि देशभर अनुगमन थालेको थियो।

अनुगमनको क्रममा देशभरबाट ६२ वटा २० वर्ष पुरानो सार्वजनिक सवारी साधन नियन्त्रणमा लिइएको यातायात ब्यवस्था विभागका नायब सुब्बा केसब जमकट्टेलले जानकारी दिए।

उनकाअनुसार मेचीमा एउटा, जनकपुरमा ६वटा, नारायणी १५ वटा, गण्डकीमा १३ वटा, लुम्बिनीमा एउटा, भेरी ४ वटा र सेतीमा २२ सार्वजनिक यातायात नियन्त्रणमा परेका हुन्।

यी मध्य गण्डकीमा नियन्त्रणमा लिइएको मध्य २ वटा पर्यटक गाडी र सेतीका सबै २२ वटा टेम्पो रहेका छन्। तर काठमाडौंबाट भने विभागले एउटा पनि साधन हात पारेनको छैन।

नियन्त्रणमा लिइएको सबै गाडी लिलामीको प्रकृयामा जाने यातायात व्यवस्था विभागका सुचना अधिकारी तुल्सीराम अर्यालले जानकारी दिए। अनुगमन यो महिनाभरी चल्ने उनले बताए।

अफूहरुसँग समुन्वय नगरी एकतर्फी गरिएको अनुगमन र जफतप्रति व्यवसायीहरुको भने विरोध रहेको छ।

अहिलेलार्इ सबैतिर ध्यानाकर्षण गराएको र सनुवाइ नभएमा आन्दोलन गर्ने राष्ट्रिय यातायात ब्यवसायी महासंघका माहासचिव सरोज सिटौलाको चेतावनी छ।

‘यस विषयमा हामीले प्रधानमन्त्री कार्यलय देखी अन्य सम्बन्धित कार्यलयहरुमा जानकारी गराएका छौ, सरकारको र व्यवसायीको एउटा कमिटी बनाएर प्राविधीक राखेर चेक जाँच गरौ र नचल्ने गाडी छ भने सबै हटाइदिउ भन्ने हाम्रो माग हो’ उनले भने ‘ सरकारले झ्याल ढोका बन्द गरेर बिरालो कुटेको जस्तो गरेको छ, यो निणर्य पुनरविचार भएन भने हामीे चरणबद्ध आन्दोलनमा जान बाध्य हुन्छौ’ उनले भने।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com