कांग्रेसबाट पुष्पा भुसाल उपसभामुखको उमेदवार


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले आज उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिइन् ।
संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।
संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ । रासस

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com