पढाई दिन्छु भनेर काठमाडौं लगिएकी बालिका बाकसमा फर्काएपछि


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

विराटनगर। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकाको बन्द बाकसमा शव फिर्ता आएको छ ।

१६ वर्षीया बालिका आइसा चौधरीलाई ११ महिनाअघि विराटनगरस्थित केशव सिलवालको परिवारले ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने छोरीज्वाँई विनय दाहाल र लीना सिलवाल (दाहाल) को घरमा घरेलु कामदारका रुपमा काम गर्न लगेका थिए ।

शुक्रबार दिउँसो ३ बजे मृतक बालिकाकी आमा गुलजारी चौधरीलाई विनय र लीनाले गलत जानकारी दिएर काठमाडौं बोलाए । ‘छोरीले सुनचाँदी, गरगहना र पैसा चोरेको कारण प्रहरीमा राखेको छ भनि तुरुन्त जानुपर्यो भन्दै जहाजमा चढाएर लगे’ गुलजारीले भनिन्– ‘काठमाडौंमा पुर्याएपछि छोरीले झुण्डिएर आत्माहत्या गरि भन्दै लास देखाइदिए ।’

जम्टोकीको सुकुम्बासी बस्तीमा न्युन आर्थिक अवस्थाका सयौं परिवार बस्दछन् । त्यही बस्तीमा गुलजारीले चार छोरी र दुई छोरासहितको परिवार चलाउँदै आएकी थिइन् । तीन छोरीको विवाह भइसकेको छ भने गुलजारीका श्रीमान्को चार वर्ष अघि मृत्यु भइसकेको छ । मृतक आइसा गुलजारीकी कान्छी छोरी हुन् ।

पहिलेदेखि नै घरेलु कामदारका रुपमा काम गर्दै आएकी बालिकालाई घरको कामकाजसँगै पढाइदिने भन्दै काठमाडौं लगिएको छिमेकीहरुले बताएका छन् । तर तिनै बालिकाको शव बन्द बाकसमा शनिबार विहानै फिर्ता आएपछि जम्टोकीको सुकुम्बासी बस्ती स्तब्ध बनेको छ ।

मृतक बालिकाकी आमा गुलजारीले छोरीको मृत्यू भएको कुरा काठमाडौं पुगेर मात्रै थाहा पाएकी बताइन् । अनपढ गुलजारीले सुझबुझ बिनै छोरीले आत्माहत्या गरेको व्यहोराको कागजमा हस्ताक्षर गरेको परिवारका सदस्यले बताएका हुन् ।

उनको पक्षमा बोलिदिने कोही नभएपछि घरेलु कामदारका रुपमा विराटनगरबाट लगिएकी आइसाको शव घरधनी दाहाल दम्पतिले बाकसमा हालेर गुलजारी एक्लैको जिम्मामा फिर्ता पठाइएका हुन् ।

स्थानीय जयप्रकाश राजवंशीले घरैमा आएर गुलजारीलाई काठमाडौं जानुपर्ने खबर दिएका थिए । राजवंशीकै खबर मुताबिक शुक्रबार जहाज चढाएर काठमाडौं लगिएकी गुलजारीले आफूलाई भोलीपल्ट शनिबारमात्रै छोरीको लास देखाएको बताइन् ।

बालिकाको शवलाई ललितपुरकै पाटन अस्पतालको शवगृहमा राखिएको थियो । उनले शनिबार विहान अस्पतालको मुर्दाघरमा छोरीको लास देखाएपछि आफु केही बोल्न नसकेको बताइन् ।

‘छोरीको लास हेर्दा शरिरमा डाम र हातमा चोटपटक लागेको देखें, धेरै डर लाग्यो, केही बोल्न सकिन’ उनले भनिन्– ‘प्रहरीले दिएको कागजमा सही गर्न लगाए, अनि छोरीको लासलाई बाकसमा हालेर एम्बुलेन्स चढाएर पठाइदिए ।’

मृतक बालिकाकी माइजु आशा राजवंशी र दिदी बबिताले पटक–पटक फोन गरेर के भएको हो भनेर सोधेपनि लीनाले भन्न नमिल्ने भन्दै टारेकी थिइन् । ‘एकजना मान्छे बाइक लिएर आएको थियो, आमालाई लग्यो, अनि फेरी नागरिकता पनि चाहिन्छ भन्दै आमालाई घरमा लिएर आएर फेरि लग्यो’ वविताले भनिन्– ‘लगातार फोन गरेपछि मात्रै सुन्न सक्छस् भनेर सोध्यो, मैले सक्छु भनें, अनि मरिसक्यो भन्यो ।’

हत्या कि मृत्यु ‘रहस्यमय’

बालिकाले आत्माहत्या नै गरेकी हुन् भन्नेमा उनका आफन्त र परिवारजनले भने आशंका जनाएका छन् । शवसँगै पठाइएको प्रहरी प्रतिवेदनमा झुण्डिएर आत्माहत्या गरेको भनि उल्लेख गरिएको आफन्तले बताएका छन् । तर मृतक दिदीको शरीरभरी नीलडाम र हातमा विभिन्न ठाउँमा काटिएको चोटपटक देखिएको मृतकका भाइ अजय चौधरीले बताए ।

घटनाको अनुसन्धानमा संलग्न ललितपुरको सातदोबाटो प्रहरीले आत्माहत्याबाटै मृत्यु भएको भनि प्रतिवेदनमा उल्लेख गरेको हो । तर आफन्तहरुले भने रहस्यमय तरिकाले काठमाडौं बोलाएर जबरजस्ती लास जिम्मा लगाएर पठाएकोले प्रहरीकै मिलेमतोमा घटना ढाकछोप भएको दाबी गरेका हुन् ।

घरधनी लीना सिलवालसँग घटनाबारे बुझ्न खोज्दा उनले आफूलाई नबोल्न भनेकोले बोल्नै नमिल्ने जिकिर गरिन् । ‘सबै कुरा सातदोबाटो प्रहरी र मोरङ प्रहरीलाई थाहा छ, त्यही सोध्नुस्’ उनले झर्किंदै भनिन् । घटनाबारे दोहोर्याएर जानकारी माग्दासमेत आफूलाई केही थाहा नभएको भन्दै उनी पन्सिएकी थिइन् ।

पटक–पटक जानकारी मागेपछि मात्रै उनले आफू घटना भएको दिन घरमा नभएको र छिमेकीहरुले घरभित्र मान्छे झुण्डिएको देखेर खबर गरेपछि थाहा पाएको बताइन् । उनले श्रीमान् बैंकमा काम गर्ने र घरमा छोरीको हेरचाह गर्नका लागि बालिकालाई छोरीकै रुपमा राखेको र पढाउँदै आएको दाबी गरिन् ।

बाढीले घर बगायो, काठमाडौंले छोरी

छिमेकी प्रमिला कर्णका अनुसार जम्टोकीस्थित सिंघीया खोलाको सुकुम्बारी टोल गत साउनको बाढीले चुर्लुम्मै डुबेको थियो । बाढीले घर बस्ती नै तहसनहस पारेको खबर पाएकी आइसा त्यसपछि असोज महिनामा काठमाडौंबाट जम्टोकीस्थित घर आएकी थिइन् । ‘त्यतिबेला नै अब फर्किएर नजाउ भनेको थिएँ’ दिदी बविताले भनिन्– ‘काम पनि राम्रो छ, पढाई पनि राम्रो छ भनेर गइन् ।’

छिमेकी प्रमिला कर्णका अनुसार आइसा पढ्नलेख्न निकै चाहना राख्थिन् । काम पनि गर्ने र पढ्न पनि पाउने भएकोले उनलाई परिवारले काठमाडौं पठाएको उनले बताइन् । ‘अहिले त्यही काठमाडौंमा छोरीको बर्बाद भयो’ प्रमिलाले भावुक हुँदै भनिन्– ‘अस्ति बाढी आएर घरै बगाइदियो, फेरि अहिले काठमाडौंले छोरी’

शव बोकेर प्रदर्शन

मृतक वालिकाका आफन्त र छिमेकीहरुले भने आत्माहत्या नभई हत्या नै भएको दाबी गर्दै शवसहित आइतबार प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विराटनगर महानगरपालिका अगाडि शवसहित प्रदर्शन गरेका हुन् । उनीहरुले शवको पुनः पोष्टमार्टम नगरिएसम्म सदगद नगर्ने घोषणा गरेका छन् ।

अनपढ महिलालाई दबाबमा पारेर सरकारी कागजमा सही गर्न लगाएको स्थानीय सत्यनारायण यादवले दाबी गरे । ‘बालिकालाई कसले लगेको हो, लाने मान्छे कहाँ छ, उसलाई पक्राउ गरी कारवाही हुनुपर्छ’ यादवले भने– ‘पुनः पोष्टमार्टम नभएसम्म हामी लास राखेर न्यायका लागि प्रदर्शन गर्छौं ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले कानुनी रुपमा घटनाको अनुसन्धान गर्ने बाटो बन्द भएको जानकारी दिए । पीडित पक्षले आत्महत्या गरेको भनेर जाहेरी दिएका कारण अनुसन्धान कार्यनै टुंगिएको देखिन्छ ।

शंका लागेको अवस्थामा त्यस्तो जाहेरी दिन नहुने भन्दै उनले एउटा प्रहरी निकायले कानुन अनुसार गरेको काममा अर्कोले केही भन्न नमिल्ने बताए । ‘पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको देखिन्छ’ बीसीले भने– ‘रिपोर्ट आउन २/३ दिन लाग्छ भन्ने सुनेको छु, मैले उहाँहरुलाई गर्नुपर्ने सहयोग गर्छु भनेकै छु’विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकमा समाचार छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com