गोपाल पराजुलीलाई प्रधानमन्त्रीको प्रश्न : प्रमाणपत्रमाथि प्रमाणपत्र, के गरेको यो ?


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था ।

कतिलाई प्रधानमन्त्रीले न्यायालयबारे नबोले हुन्थ्यो भन्ने लागेको भन्दै उनले अघि भने, प्रधानमन्त्री एउटा नबालेर के हुन्छ र ? त्यहाँ न्यायालय भकभक उम्लिराख्या छ ।’

उनले हाँस्दै अघि भने, ‘अब के बोल्नु, के नबोल्नु ? बोलेर के हुने, नबोलेर के हुने ? बेञ्च बसेको छैन । न्याय पाउँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन् ।’

प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका बीग ‘फाइभ-सिक्स’ (राजकीय पदहरु) कहिले जन्मिएका हुन् भन्ने देशलाई थाहा नहुने अवस्था आएको बताए ।

उनले हास्दै भने, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने । यो कुनै मल्ल युद्धको विषय हो ? कुस्ती खेल्ने विषय हो ?

‘जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ । एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र के गरेको यो ?’

अदालत, जहाँ मान्छेले आफ्नो आस्था अड्याउन चाहन्छन्, त्यहाँ बडो विचित्रको स्थिति देखिएको भन्दै उनले यो सैहृय नभएको बताए । संविधान र कानुनको वर्खिलाप जाने र एकअर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नभएको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com