६ वर्ष अगाडि थालिएको विमानस्थल विस्तारको काम सन् २०१९ भित्र सकिने


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

बीबीसी। धावन मार्गको आकार ठूलो गर्ने र पार्किङ क्षेत्र फराकिलो बनाउने गरी ६ वर्ष अगाडि थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम अझैसम्म पूरा नभएको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।

राष्ट्रिय गौरवको यो परियोजना ठेकेदार कम्पनीको लापरवाहीका कारण ढिला भएको बताएको नागरिक उड्डयन प्राधिकरणले भने पुरानो कम्पनीलाई हटाएर नयाँ ठेकेदार कम्पनी मार्फत तीव्र रूपमा काम शुरू भइसकेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको जिम्मा पाएको ६ वर्षको अवधिमा २० प्रतिशत काम पनि सम्पन्न गर्न नसकेपछि तीन महिना अगाडि स्पेनको सानहोसे कन्स्ट्रक्टोरासंगको ठेक्का सम्झौता सरकारले रद्द गरेको थियो।

अहिले विस्तारको कामलाई चार भागमा विभाजन गरी छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिइएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रक्रिया
जसमा विमानस्थलको दक्षिण तिरको कोटेश्वर तर्फको ३ सय मिटर धावनमार्ग विस्तार गर्ने, टर्मिनल भवन बढाउने र अर्को एनसिलरी भवन विस्तारको काम चिनियाँ कम्पनीले शुरू गरिसकेको उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए।

उनले भने, “एनसिलरी भवन र टर्मिनल भवनको विस्तारको काम शुरू पनि भइसकेको छ। र, धावनमार्ग विस्तारको काममा ठेकेदार कम्पनी केही समयपछि परिचालित हुन्छ र यी सबै काम सन् २०१९ भित्र सम्पन्न हुने गरी कार्य भइरहेको छ।”

९ वटा थप विमानहरू अट्ने गरी पार्किङस्थल विस्तार गर्ने मुख्य मानिएको कामको लागि भने अहिले फ्रान्सको कम्पनी एडीबीआईले अध्ययन गरिरहेको र त्यसपछिमात्र ठेक्का प्रक्रिया शुरू हुने बताइएको छ।

यी बाहेक प्राधिकरणले आफ्नो आन्तरिक स्रोतबाट समेत थप चारवटा विमान पार्किङ स्थल निर्माणको काम शुरू गरिएको पनि महानिर्देशक गौतमले बताए।

अनुगमन
राष्ट्रिय गौरवको परियोजना अन्तर्गत रहेको विमानस्थल विस्तारको काम एसियाली विकास ब्यांङकको ६ अर्ब रूपैयाँको ऋण सहयोगमा सन् २०१२ मा थालिएको थियो।

कतिपयले विमानस्थलको साँघुरोपन, पार्किङको अभावलाई पनि विमान दुर्घटनाको कारण बताउने गरेका छन्।

तर प्राधिकरणका महानिर्देशक गौतम भन्छन्, “एयरपोर्टको पूर्वाधारको कारणले गर्दा दुर्घटना भएको चाहिँ होइन। दुर्घटनाका अरू कारणहरू हुन सक्छन्। त्यो छानबिन आयोगको प्रतिवेदनले नै औंल्याउने छन्। तर ठूला जहाजहरूको हकमा हाम्रो विमानस्थल साँघुरो भयो अथवा रनवे को कारणले गर्दा अहिलेसम्म दुर्घटना भएको अवस्था होइन। ”

अर्को वर्षसम्ममा कम्तीमा १३ वटा थप पार्किङ स्थल बनाउने भनिएको विमानस्थलको कामको निरन्तर अनुगमन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com