लन्डनमा भब्य बन्यो कवि पराजुलीको कविता कन्सर्ट


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

फडिन्द्र भट्टराई

शनिबार लन्डनको ग्रिनफोर्ड हल भरिभराउ र शान्त थियो। नेपालबाट कविता कन्सर्टको लागि निम्त्याईएका युवा कवि नवराज पराजुलीका  कविताहरु  सुन्ने व्यग्र प्रतिक्षामा रहेका  दर्शकको  सन्नाटा  चिर्दै कवि पराजुली कुनै नाट्यशालामा जस्तै गरेर मञ्चमा आए। मञ्चको पर्दा खुले पछि कुनै नाटकको दृश्यमा जस्तै सोचमग्न हुदै प्रश्नवाचक चिन्न टाँगिएको  एउटा गेटबाट बाहिरिएपछि उनले आफ्नो कविता सगरमाथाको गहिराईका  पंक्तिबाट शुरू गरे।

‘यो संसारको कुनै महान चित्रकारलाई

यो विश्व नै पोत्न पुग्ने रङ चाहिए

मेरो देशका गुराँसहरुसँग सापटी माग्नु

म त गुँरासको देशको मान्छे

तर मैले खाने चामलको रङ किन्न

म आफू चाही अरब आएको छु’ ….

 

‘ए देश मैले मेरी आमाले बनाएको

सानो काठको बाकस भर्ने पैसा बोकेर

म घर फर्किए भने त ठिकै हो

तर त्यो भन्दा ठूलो रातो काठको बाकसमा

म आफैं आफैं भरिएर फर्के भने….’

चकमन्न सन्नाटामा तालि बजिरहँदा  उनी लामो सास फेर्दै एक पछि अर्को कविता सुनाउँदै गए। पृष्ठभूमिमा बजेको मधुर धुनसँगै कवि पराजुली आफ्नो अभिनयात्मक कविता प्रस्तुतिमा बेजोड लागिरहे। दर्शकका हातहरू ताली बजाउन र भावनामा बग्न खोजेका आफ्नो आँखाको टिलपिल थमाउनमा  ब्यस्त देखिन्थे ।

आधा दर्जन कविताको प्रस्तुतिमा ‘खोया’ मा प्रेमको द्विविधायुक्त संक्रमणकालिन परिवेश दर्शाए। नेप्लिज ब्रिटिश कम्युनिटीले नेपालका द्वन्दपीडित बाल बालिकाको सहयोगार्थ आयोजना गरेको कविता कन्सर्ट कार्यक्रममा उनले यसै सन्दर्भसँग मिल्ने ‘बुद्धको टाउकोको मोल’ कविता सुनाए।

द्वन्द्वमा बेपत्ता पारिएका परिवारको पीडालाई  शब्दमा उनिएको उनको कविताले दर्शकहरुलाई फेरि एक पटक द्वन्दपीडातिरै फर्काइदिएको भान हुन्थ्यो।

आफ्नो  नयाँ कविता ‘च्याउ’ मा जीवन रसमा फुल्न नसकेकी एक अपांग महिलाको पिडा र वेदना पोखे।

‘रुख’ शीर्षकको कवितामा आफ्नी जीवन संगिनी गुमाएका एक वृद्धले बुढेशकालमा आफ्नी मृत श्रीमतीलाई पठाएको सन्देश बोले। रूख कविताको यथार्थपरक प्रस्तुतिमा दर्शकहरु निकै भावुक बनेका थिए।

उनको प्रसिद्ध ‘हेब्बी बड्डे’ कवितामा आमाको अथाह माया आफ्नो शब्दहरुमा पस्किएपछि लन्डनका आयोजक र दर्शकलाई आभार व्यक्त  गर्दै  आफ्नो प्रस्तुतिको बिट मार्दै उनले भने , ‘यसपाली यस्तै भयो, हरि ओम तत्सत!’

उनले आफ्नो एकाध मिनेटको मन्तव्यमा अक्सर आफैंलाई सोधिने ‘कविता लेखेर के हुन्छ’ भन्ने प्रश्नको उत्तर नेपालमा द्वन्द्वपीडित बालबालिकाको लागि आयोजित लन्डन कविता कन्सर्टले दिन सकेको बताए ।

कार्यक्रमको शुरुवातमै  बेलायतबाट स्थानीय ६ जना स्रष्टाहरुको वाचनले पनि दर्शकहरुको मन जितेको थियो ।

कार्यक्रमका बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बिभिन्न कालखण्डमा  नेपाली भाषा साहित्यको विकासक्रम सम्बन्धीका आयामलाई बिभिन्न कविका कविता समेतलाई  उधृत गर्दै रोचक मन्तब्य दिएका थिए।

उनले कवि नवराज पराजुलीलाई नेपाली साहित्यको आकाशमा उदियमान ताराको संज्ञा दिए। पराजुलीको सृजनाको मुक्तकण्ठले प्रशंशा गर्दै राजदूत सुवेदीले भने ‘कवि पराजुलीको कवितामा जादु छ कि जादुमा उनको कविता।’

समिर नाथ प्याकुरेल र राम शरण शिंखडाले संचालन गरेको कविता कार्यक्रमको अन्त्यमा एन बि सी यूकेका अध्यक्ष मिलन घिमिरेले उपस्थितलाई धन्यवाद दिएका थिए ।

उत्कृष्ट  व्यवस्थापन

कार्यक्रममा कुनै आसन र भाषणलाई निषेध गरिएको बताउँदै आएका आयोजकहरुले यसलाई व्यवहारमा पनि लागू गरेको देखियो। कविता वाचन गर्ने स्रस्टालाई समेत सम्बोधन नगर्ने ब्रिफिङ आयोजकले गरेका थिए।

नेपाली कार्यक्रमहरुमा हुने आशनग्रहण र भाषणबाजीबाट आजित  उपस्थितहरुले यो ट्रेन्डको खुलेर प्रशंशा गरे ।

एन आर एन यूकेको सहकार्य र एन बि सी यूकेको आयोजनामा भएको यो कविता कार्यक्रमलाई ब्यवस्थापकीय हिसाबले उत्कृष्ट  रहेको प्रतिक्रिया दर्शकहरुले दिए।

यति ठूलो स्केलको नेपाली कविता कार्यक्रम बेलायतमा पहिलो भएको कुरामा पनि सहभागी सबै एकमत देखिए। एनबिसी यूकेको सिंगो कार्यसमिति र संस्था आवद्ध महिलाले कार्यक्रमलाई खास बिशेष नै बनाएका थिए ।

कविता कार्यक्रम एक चुनौती

 

सामान्यतया प्रवासका साहित्यिक कार्यक्रमहरुमा हुने केही दर्जन उपस्थितिको प्रचलनका बिच आयोजना गरिएको कविता कन्सर्ट आफैंमा चुनौतीपूर्ण थियो। ‘कविता कार्यक्रममा सयौं दर्शक उतार्नु त्यो पनि महँगो टिकटमा, चुनौतीपूर्ण नै थियो तर सबैको सहयोगले कार्यक्रम सफल रहेको महसुस भएको छ,’ कविता कन्सर्टको संयोजन गरेका राम शरण शिंखडाले कार्यक्रम पश्चातको कुराकानीमा  भने।

उपस्थिति, मनोरंजन  र च्यारिटी संकलनका हिसाबले आयोजकहरुले उठाएको कदमलाई कार्यक्रम अघिका टिप्पणीमा  एउटा  ‘रिस्क’ रुपमा समेत चित्रण गरिएको थियो ।

१६ लाख रुपैयाँ द्वन्द्व पीडित अनाथको लागि

नेपालमा द्वन्द्वपीडित बाल बालिकाको सहयोगार्थ आयोजना गरिएको कविता कन्सर्टबाट करिब १६ लाख बचत गर्न सकिएको प्रारभिक जानकारी आयोजकहरुले दिएका छन्।

उक्त रकम द्वन्द्वकालमा बाबु आमा गुमाएर अनाथ बनेका बालबालिकाको संरक्षण गरिरहेको सर्लाही घुर्क्यौलीस्थित ‘चेतना संदेश नेपाल’ नामक संस्थालाई  हस्तान्तरण गरिने बताईएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com