विवाहमा गएकी किशोरीमाथि सामुहिक बलात्कार


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

–महिला खबर–

ललितपुर । पछिल्लो समय सामुहिक बलात्कारका घटना बढिरहेको बेला सप्तरीमा किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

शम्भुनाथ नगरपालिका ३ की १६ वर्षीया किशोरीमाथि आइतबार राति सात जनाले सामुहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउपर्नेमा सोही नगरपालिकाका २० वर्षीय अजय चौधरी र वर्ष २० कै एकलाटी चौधरी रहेका छन् । अन्य पाँच जना युवा भने फरार छन् ।

यसरी भयो घटना

गएको आइतबार राती किशोरी बाबुआमासँगै घर नजिकैको विवाहमा गएकी थिइन् । उनको कान दुःख्ने समस्या थियो । किशोरी कानमा समस्या भएपछि रातिको १२ बजे गाउँकै मेडिकल पुगेकी थिइन् । मेडिकल बन्द रहेको थाहा पाएपछि उनी पुनः विवाह घरमै फर्कदै थिइन् ।
फर्कने क्रममा उनलाई अजय र एकलाटीले जबरजस्ती समातेर गहुँबारीमा लगेर बलात्कार गरेका थिए । त्यसपछि उनीहरुले गाउँका पाँच जना युवालाई समेत बोलाएर बलात्कार गर्न लगाएका किशोरीले बताएकी छिन् ।

किशोरीले प्रहरीसँगको बयानमा बलात्कार गरेको अरुलाई भनेमा मार्ने धम्किदिएको बताएकी छिन् । लामो समयसम्म छोरी नफर्कीएपछि किशोरीका बाबुआमा सहित गाउँलले खोज्न जाँदा किशोरी गहुँबारीमा फेला परेकी थिइन् । गाउँले गएलगत्तै युवाहरु भागेका थिए ।

घटना भएको भोलीपल्ट सोमाबार किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा सात जना विरुद्ध किटानी जाहेरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी धु्रबकुमार श्रेष्ठले किटानीको आधारमा अजय र एकलाटीलाई सोमबार नै पक्राउ गरिएको बताए ।

सोही नगरपालिकाका मनोजकुमार शाह, अर्जुनकुमार शाह, निथ्लेशकुमार शाह, बबि चौधरी र एक जना नाम नखुलेका युवाहरुको भने फरार छन् ।

फरार रहेका उनीहरुको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रेष्ठले महिला खबरलाई जानकारी दिए ।

उनले भने, ‘युवतीको शरिरमा चोट लागेको छ । घटनाको प्रकृति हेर्दा सामुहिक बलात्कार भएको देखिन्छ ।’

किशोरीको मेडिकल रिपोर्ट आउन बाँकी छ । उनी गाउँकै विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com