सँगै रहेका काखे बच्चा र श्रीमान हराए, एक महिलाको मनै रूवाउने बयान


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

काठमाण्डु– म बंगलादेशी हुँ । मेरो घर ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरुले पनि मेरो सामु धेरै वर्णन गरेका थिए । त्यसैले म नेपाल घुम्न आतुर थिएँ । परिवारसँग नेपाल घुम्ने सल्लाह भयो । अरु साथीहरुसँग पनि सल्लाह भयो । अन्ततः हामी नेपाल आउने तय भयो, मार्चको दोश्रो साता । नेपाल आउने चाहना राख्ने त अरु पनि थिए । तर, उनीहरुको समय मिलेन । अन्तिममा म, मेरो बच्चा र श्रीमानसहित अन्य दुईजना नेपाल आउने निर्णयमा पुग्यौं । सात दिनसम्म नेपाल घुम्ने उद्देश्यले हामी सोमबार ढाकाबाट नेपालका लागि उड्यौं । नेपालमा काठमाण्डु र पोखरा घुम्ने हाम्रो योजना थियो । यसका लागि हामीले सात दिनको छुट्टी लिएका थियौं । नेपाल आउन पाउँदा निकै उत्साहित थियौं । जहाजमा चढेपछि कतिबेला नेपाल पुगिएला भन्ने कौतुहलता मनमा थियो । केही घण्टाको जहाज यात्रापछि डाँडाकाँडा देखियो । हिउँले ढाकिएका पहाड देखिए । निका रोमाञ्चित भएर त्यसलाई नियालीरह्यौं ।

जहाजभित्र काठमाण्डु आइपुगेको ‘अनाउन्स’ भयो । हामी थप रोमाञ्चित भयौं । जहाज अवतरण गर्न तलतल झ¥यो । काठमाण्डुका घर देखिए । पछि विमानस्थलको ‘रन वे’ देखियो । तर, जहाज रन वे तर्फ गएन । मनमा चसक्क पस्यो । जहाज घुम्यो । केहीबेरपछि फेरि रन वे देखियो । तर, जहाज सही दिशामा थिएन । जहाज एक्कासि बजारिएको आवाज आयो । जहाजभित्रका सबै आत्तिए । कोही कराउन लागे । कोही चिच्याउन लागे । जहाजभित्र डढेको गन्ध आउन थाल्यो । तर, जहाज रोकिएको थिएन । सिट बेल्ट बाँधिएकाले कोही हिंडडुल गर्न सकिरहेको थिएन । तर, सबै चिच्याइरहेका थिए । केही बेरमा जहाज रोकियो । जहाजमा आगो दन्कियो । जाहाजभित्र यात्रुको भागदौड मच्चियो । सबैले गुहार माग्न लागे । केही रुन थाले । कोही कराउन थाले । मसँगै हुनुहुन्थ्यो मेरा श्रीमान र काखमा थियो सानो बच्चा । सिट बेल्ट बाँधिएकाले हामी कहीं जान सकिरहेका थिएनौं । तर, अरुले भने सिट बेल्ट खोलेर जहाजभित्रको इमरजेन्सी ढोका खोल्दै थिए । कोही जहाजभित्रैबाट सिसा फुटाइरहेका देखिन्थे । हामी भने केही गर्न सकिरहेका थिएनौं । तर, जहाज झन्–झ्न् दन्कँदै थियो । बच्चा काखमा च्यापिरहेकी थिएँ ।

आगो दन्कँदै झन्–झ्न नजिक आउन थाल्यो । डरले म सिटमै बसिरहें । यत्तिकैमा मेरो हात कसैले तान्यो । त्यसबेलासम्म म अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ । त्यसपछि के भयो मैले केही मेसो पाउन सकेकी छैन । अहिले म अस्पतालको बेडमा छु । मेरा श्रीमान र बच्चा हराइरहेका छन् । मैले सबैलाई सोधें । तर, कसैले पनि उत्तर दिएका छैनन् । सबैले ‘मिसिङ’ मात्रै भनिरहेका छन् । उनीहरु कहाँ छन् ? मलाई केही थाहा छैन । मसँगै आएका अन्य दुई साथी भने सकुशल भएको खबर पाएकी छु ।
(नयाँ पत्रिकामा प्रकाशित बंगाल विमान दुर्घटनामा घाइते भएकी बंगलादेशी महिला अल्मुन्नाहर अन्नीको बयान)

यो पनि पढ्नुस

कस्तो निर्दयी श्रीमान जस्ले छोरी जन्माएको भन्दै गरे अफ्नै श्रीमतीलाई एसिड आक्रमण

एजेन्सी। छोरी जन्माएको भन्दै एक श्रीमानले श्रीमती माथि एसिड फ्याँकेका छन्। भारतको नयाँ दिल्ली नजिकको ठाउँ मोरादाबादमा उक्त घटना घटेको हो।

२५ वर्षिया श्रीमती फराह बिविले दाइजो पर्याप्त नल्याएको भन्दै ३२ वर्षीय श्रीमान सिराज बिविले विभिन्न यातना दिने गर्थे। श्रीमती गर्भवती भएपछि छोरा जन्मने आशा बोकेका उनले जब छोरी जन्मीइन्, श्रीमती माथि एसिड फ्याँके। एसिडले फराहको अनुहार, हात र पेटमा असर परेको छ भने श्रीमान सिराज फरार छन्।

सिराजको अपराधमा उनको परिवार पनि संलग्न रहेको छ। परिवारले फराहले जानी-जानी छोरी जन्माएको आरोप लगाएको थियो।

जलेको अनुहार लिएर अस्पताल गएकी फराहको उपचार भइरहेको छ भने प्रहरीले सिराजको खोजतलास सुरु गरेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com