नेपालले हङकङलाई ५ विकेटले पराजित


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८,काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । नेपालका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् ।

हङकङमाथि जित हात पारेसँगै नेपाल समूह बी को चौथो हुदै प्ले अफमा पुगेको छ । तर सुपर सिक्समा भने नेपाल पुग्न असफल भएको छ । नेपालले हङकङलाई पराजित गरेसँगै अफगानिस्तान भाग्यमानी बन्दै सुपर सिक्समा पुगेको छ ।

हङकङले दिएको १५४ रनको चुनौति ४०।४ ओभरमा ५ विकेटको क्षतिमा नेपालले पुरा गर्यो ।

नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले ८९ रनको पाटनरसिप खेल्दै जित दिलाएका हुन् । रोहितले अविजित ४८ रन बनाए भने सोमपालले अविजित ३७ रन बनाए । नेपाल कुनै बेला दबाबमा आएको थियो । नेपालको ५ विकेट पतन हुदा ६६ रन मात्रै थियो । तर रोहित र सोमपालले नेपाली इनिङ्स उकासेका हुन् ।

नेपालका लागि अन्य खेलाडी अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १२–१२ रन बनाए भने कप्तान पारस खड्का ११ रनमा आउट भएका थिए ।

हङकङले जिम्बावेको बुलावायो एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ गर्दै ४८।२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको थियो । हङकङका लागि निजकट खानलले ४७ बनाए । त्यस्तै, इशान खानले २५, कप्तान बाबर हायतले २०, इशान नवाजले १४ र तानविर अजवलले १० रन बनाए । हङकङका अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका लिए । त्यस्तै, बसन्त रेग्मी र करण केसीले समान २–२ विकेट लिए । सोमपाल कामी र ललितले समान १–१ विकेट लिन सफल भए ।

जितपछि नेपालले एक दिवसीय मान्यता पाउने सम्भावना पनि बढेको छ । नेपालले प्ले अफमा अब पपुवा न्युगिनीसँग चैत्र १ गते विहीबार खेल्ने छ । एक दिवसीय मान्यता पाउन र रेलिगेशनबाट जोगिनका लागि पनि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com