ममी म प्लेन चढें भन्दै बंगलादेशबाट छोरीले फोन गरेकी थिइन्
प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार
काठमाडौं, २८ फागुन– सोमबार(आज) दिउँसो १२ बजे ‘ममि म प्लेन चढें’ भन्दै पाटनकी आसना शाक्यले आमा रुपालाई फोन गरिन् ।
पाटनकी रुपा शाक्य साढे १ बजे छोरी लिनका लागि त्रिभुवन विमानस्थल पुगिन् । साढे २ बजे विमानस्लमा छोरीलाई लिन गएकी रुपा त्यतिखेर सितांग भइन् जुन समयमा विमानस्थलमा धुवाको मुस्लो उड्यो ।
आफ्नी छोरी विमानबाट ओर्लने समयमा विमानमा आगलागी भएको विमानस्थलबाट प्रस्ट देखेपछि उनलाई छटपटि भयो ।
केहीबेर विमानस्थलमा यताउति गरेकी रुपमा त्यतिबेला छांगाबाट खसेजस्तै भइन् जतिबेला समाचारहरुमा बंगलादेशबाट आएको विमानमा आगलागी भएको आयो ।
विमान दुर्घटनामा परेकालाई लिएर एम्बुलेन्सहरु अस्पताल तर्फ कुदेपछि उनी पनि त्यसतर्फ जान चाहन्थिन् तर कहाँ जाने ?
केही बेरमा उनले पत्ता लगाइन् घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरुलाई लगिएको छ ।
त्यसपछि उनी त्यतै लागिन् ।
अस्पताल पुगिन् तर उनले छोरी भेट्न सकिनन् ।
अस्पतालले जारी गरेको घाइतेको नाममा उनको छोरीको नाम थिएन् ।
रुपा छोरी भेटिने आशामा थिइन् । अरु घाइते कुन अस्पताल लगेको छ भन्दै उनी खोजी गर्दै थिइन् ।
यो समाचार तयार पार्दासम्म विमानमा रहेका चालक दलका सदस्यसहित ७१ जनाको नाममा आसना शाक्यको नाम थियो । तर उनको अवस्था बारे आमा चिन्तित थिइन् ।
अनलाईन पत्रीका