महिला प्रहरीमाथि नै दुर्व्यवहार


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

–महिला खबर –

ललितपुर । समाजमा शान्ति सुरक्षा कायम राख्ने प्रहरी । नागरिकलाई अपराध गर्न रोक्ने प्रहरी । हिंसामा परेकालाई न्यायिक प्रकृयामा लैजाने प्रहरी हुन् ।

तपाईंलाई पत्यार नलाग्न सक्छ, तिनै प्रहरी सर्वसाधारण नागरिकबाट दुर्व्यवहारमा पर्छन्, परेका छन् । सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको ‘सेफ्टी पिन’ अभियानमा खटिएका महिला प्रहरी हिंसामा पर्ने गरेका हुन् ।

गएको साउन महिनादेखि सार्वजनिक सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहार रोक्न नेपाल प्रहरीले ‘सेफ्टी पिन’ नाम दिएर सार्वजनिक यातायातमा सादा पोशाकमा प्रहरी खटाएका छन् ।

काठमाडौंका २० वटा विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीमा दैनिक प्रहरी खटिएका हुन्छन् । तिनै अभियानमा खटिएका महिला प्रहरी दुर्व्यवहारमा पर्ने गरेका हुन् । गएको भदौमा पेप्सीकोलादेखि बबरमहलसम्म नेपाल यातायातमा अनुगमन गर्दा एक महिला प्रहरीले त्यस्तै यौन हिंसा भोगिन् ।

रामेछाप घर भएका ४२ वर्षका अधबैंशे पुरुषले उनलाई दुव्र्यवहार गरे । सर्वसाधारण महिलामाथि हुनसक्ने दुर्व्यवहारको अनुगमनमा गएकी प्रहरी नै दुर्व्यवहारमा परेपछि ति अधबैंशे गाडीबाटै पक्राउ परे ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रशासन कार्यालयमा उनी बिरुद्ध सार्वजनिक अपराध ऐनमा मुद्दा दायर गर्‍यो ।

१२ दिनसम्म प्रहरी हिरासतमा राखेर ७ हजार रुपैयाँ धरौटीमा ति अधबैंशे छुटेका जिल्ला प्रशासन कायौलय काठमाडौंका प्रशासकीय अधिकृत नवराज ढकालले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतको महिला तथा बालबालिका सेवा शाखाले अहिले ‘सेफ्टी पिन’ अभियानको नेतृत्व गरिरहेको छ ।

शाखाकी इन्चार्ज सइ सुष्मा कठायतका अनुसार ‘सेफ्टी पिन’ अभियानको पहिलो चरणमा ८४ जना पुरुष पक्राउ परेका थिए । तिमध्ये २९ जनालाई सार्वजनिक अपराध ऐनमा मुद्दा चलाइयो । उनले भनिन्, ‘महिला प्रहरी सादा पोशाकमा हुने भएकोले सामान्य नागरिक ठानेर दुर्व्यवहार गर्छन् ।’

पहिलो चरणको अनुगमन कात्तिक २० गते सकिएको थियो । गएको पुष १७ गतेदेखि प्रहरीले पुनः सार्वजनिक यातायातमा अनुगमन थालेको छ । हरेक दिन ६० जना प्रहरीले सार्वजनिक यातायातको अनुगमन गर्दै आएका छन् ।

अनुगमनमा रहने प्रहरी ३ जनाको समूहमा हिँड्छन् । सइ कठायतका अनुसार एक समूहमा एक महिला प्रहरी अनिवार्य रहन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com