सडक बनेको आठ वर्षपछि नियमित बस सेवा शुरु


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो ।

सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए । दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले उद्घाटन गर्नुभएको हो ।

करीब आठ वर्षपहिले निर्माण गरिएको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकको खार्मीसम्म मर्मत गरेपछि नियमित बस सेवा शुरु गरिएको मर्मत उपभोक्ता समितिका अध्यक्ष श्यामकुमार राईले जानकारी दिनुभयो । सडक मर्मतका लागि यस वर्ष नगरपालिकाले रु ४० लाख रकम छुट्याएको थियो । करीब चार घण्टा पैदल यात्रा गरेर पुगिने खार्मीमा दिक्तेल–खार्मी नियमित बस सेवा शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

दिक्तेल–खार्मी बस सेवा शुरु भएपछि खार्मीसँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । नगरपालिकाको १५ वटा वडामध्ये खार्मीमा सबैभन्दा पछि यातायात सेवा शुरु भएको हो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com