वैशाख ९ गते एमाले–माओवादी एक हुने


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

नेकपा एमाले र माओवादी केन्द्र आउने वैशाख ९ गते औपचारिक रूपमा एक हुने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर देशका दुई ठूला वाम पार्टीहरू औपचारिक रूपमा एक हुने भएका हुन्।

एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टीका कमिटी विघटन गरेर सो दिन एकीकृत पार्टीको स्थायी समिति र केन्द्रीय समिति घोषणा गर्नेछन्।

‘संगठन र अन्तरिम विधान टुंग्याउन बनाइएका दुबै कार्यदलले धेरैका काम सकिसकेका छन्, नेपाल कम्युनिष्ट पार्टी गठन भएको अवसर पारेर वैशाख ९ मा एकता घोषणा हुने सम्भावना छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने, ‘यसको अन्तिम निर्णय भने एकता संयोजन समितिले गर्नेछ।’

एकता घोषणालगत्तै कानुनी रूपमा पार्टी एक बनाउन  निर्वाचन आयोगमा दल दर्ता गरिने उनले जानकारी दिए।

एमाले र माओवादी केन्द्रले असोज १७ गते प्रतिनिधि र प्रदेश सभा चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए।

फागुन ७ गते राति दुबै पार्टीले एक पार्टी बनाउन सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

सो सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ। एकीकृत पार्टीको निर्देशक सिद्धान्त ुमार्क्सवाद र लेनिनवादु रहनेछ।

‘एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादअन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायत मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायत मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएको छ,’ सहमतिपत्रमा उल्लेख छ।

एमालेले अवलम्बन गर्दै आएको जनताको बहदुलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गरिआएको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादसम्बन्धी विषयमा छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमतिपत्रमा छ।

यही आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिने भनिएको छ।

एकतापछि महाधिवेशनले समझदारीका अाधारमा नयाँ नेतृत्व छान्नेछ।

‘प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक, आर्थिक रुपान्तरणमार्फत् समाजवादका आधार निर्माण गरिनेछ,’ सहमतिपत्रमा भनिएको छ, ‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com