एक सय जना राष्ट्रिय व्यक्तित्व सम्मानित भए पोखरामा, राजेश हमालदेखि रवि लामिछानेसम्म


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, पोखरा । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा शनिबार पोखरामा १ सय जना राष्ट्रिय व्यक्तित्व सम्मानित भएका छन्। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालले उनीहरुलाई रथारोहणसहित विशेष सम्मान गरेको हो।

सामाजिक क्षेत्रमा सक्रिय धुर्मस सुन्तलीको जोडी, नायक राजेश हमालदेखि शताब्दी पुरुष सत्यमोहन जोशीसम्म सम्मानित भए। पछिल्लो समय पत्रकारितामा चर्चा बटुलेका रवि लामिछाने, खेलकुदका दीपक विष्ट, वैकुण्ठ मानन्धर, कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन, कवि तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला लगायतले शनिबार सम्मान ग्रहण गरे। समाजको विभिन्न क्षेत्रममा योगदान पुर्‍याएको भन्दै कदर स्वरुप उनीहरुलाई सम्मान गरिएको डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए।

उद्योगपति गणेशबहादुर श्रेष्ठ, हरि पाण्डे, बेलायतबाट नेपाल आइ पुतलीको अनुसन्धानमा लागेका फिलिप कोलिन स्मिथ, ज्येष्ठ नागरिकको सेवामा लागेका वसन्तकेशव पराजुली, मानवअधिकारकर्मी टेकनाथ बरालदेखि पूर्व कम्लहरी शान्ता चौधरी पनि पोखरामा सम्मानित भए । सम्मानित हुनेमा अर्बपति विनोद चौधरीदेखि राजनीतिकर्मी रामप्रित पासवान, संस्कृतिकर्मी धीरेन्द्र प्रेमर्षिदेखि आँखा बाजेका रुपमा परिचित रामप्रसाद पोखरेल सम्मानित भए। संस्कृतिविद् जगमान गुरुङ, नेपाली भाषाविद् वसन्तकुमार शम्मा नेपाललगायतका श्रष्टा सम्मानित भए।

पोखरा सभागृहबाट सुरु भएको रथारोहण र्‍याली न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार हुँदै पोखरा प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले समाज सेवाका क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्सले १ सय जना व्यक्तिहरुलाई एउटै मञ्चमा सम्मान गरेर उदाहरणीय काम गरेको बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com