‘बोक्सी’ भन्दै कुटिएकी युवती के भन्छिन् ? पीडकमाथि यस्तो हुनसक्छ सजाय


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

कैलाली, फागुन २६ । कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीमा ‘बोक्सी’को आरोपमा एक युवतीमाथि भएको दुर्व्यवहार र निर्घात् कुटपिटको चौतर्फी विरोध भएको छ ।

 

बोक्सीको आरोपमा कुटिएकी युवतीले न्यायको अपील गरेकी छन् भने पीडकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

आफूलाई ‘भोलेबाबा’ बताउने रामबहादुर चौधरीले कैलालीको घोडाघोडी नगरपालिका–५, की २० वर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात् कुटपिट गरेपछि घटनाको चौतर्फी आलोचना भएको हो ।

पीडित महिलाको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिन आफूमाथि निर्घात् कुटपिट र दुर्व्यवहार भएको भन्दै पीडित युवतीले न्यायको अपील गरेकी छन् ।

घाइते छोरीको उपचारमा खटिइरहेकी आमा फूलकेशरी चौधरीले घटना भएकाबेला ठूलो संख्यामा मानिसहरु उपस्थित भएपनि उनलाई बचाउन कसैले सहयोग नगरेको गुनासो गरिन् ।

उनले छोरीलाई कुटपिट गर्नेहरुमाथि हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।

घटनालगत्तै पक्राउ परेका भोलेबाबा भन्ने रामबहादुर चौधरीलाई घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी र वडाध्यक्ष प्रेम रोकायालगायतको रोहबरमा छाडिएको थियो ।

तर, चौतर्फी आलोचना भएपछि प्रहरीले चौधरीलाई पुनः पक्राउ गरेको छ । चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक सागर बोहराले बोक्सीको आरोप लगाएर कुटपिट गर्नेलाई कारबाही गर्न मुद्दा दायर गरिने बताए ।

उनले घटनाको बेवास्ता गर्ने इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टलाईसमेत स्पष्टीकरण सोधिने जानकारी दिए ।

घटनामा संलग्न चौधरीमाथि प्रचलित कानुनअनुसार १० वर्षसम्मको सजाय, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने अधिवक्ता गम्भीर सिंह ऐरले बताए ।

बिराज रोस्यारा (इमेज)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com