‘नयाँ अध्यायको सुरुवातमा लागिपरेको छु’ – भवन भट्ट, एनआरएनए अध्यक्ष


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

गत अक्टोबरमा सम्पन्न एनआरएनए सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् चर्चित हस्पिटालिटी बिजनेश आइकन भवन भट्ट । टीबीआई गु्रपका अध्यक्ष समेत रहेका भट्टको यो गु्रपले जापानमा झण्डै ३ सय चेन रेष्टुरेण्टहरु संचालन गर्दै आएको छ । टीबीआई ग्रुप अन्तरगत कारोबार दैनिक, बीबी एयरवेज, नेपाल बु्रअरी, लिबर्टी कलेज लगायतका कैयन कम्पनीहरु संचालन हुदै आएका छन् । नयाँ अध्यायको सुरुवातको नारा दिदै एनआरएन अध्यक्षमा निर्वाचित भवन भ्ट्टले कस्तो खालको नयाँ अध्यायको सुरुवात गर्दैछन् ? खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको विशेष सम्बादको सारसंक्षेप । 

एनआरएनको अध्यक्ष निर्वाचित हुनुपूर्व नयाँ अध्यायको शुरुवात भन्नुभएको थियो । अध्यक्ष भएको केही महिना वितिसकेका छन्, यो अवधिमा नयाँ के कस्ता कामको शुरुवात गर्नुभयो ?

हो, मैले एनआरएनको नयाँ अध्यायको शुरुवात भनेको थिए । अहिले त्यसमै लागेको छु । नयाँ अध्यायको शुरुवात भनेको संस्था बलियो र चलायमान बनाउनु हो । त्यसको लागि  १५ वर्षपछि संस्थाको हेडक्वाटर बनाउँदैछौँ । भन्न त हामीले २००३ देखि नेपाल र नेपाली जनताको विकास समृद्धि भन्दै आएका छौँ । त्यसको लागि संस्थालाई बलियो बनाउनु पर्यो । यसमा रहेका सदस्यहरुको व्यापस्थापन गर्नु पनि छ । अहिले संस्था बैधानिक रुपमा काम गर्न पाउने भएको छ । अर्को, हामीबाट देशले आशा गरेको, विश्वभर नेपालको सन्देश राम्रोसँग पुर्याउनु  छ । यसमा एनआरएनको महत्वपूर्ण भूमिका हुन्छ । हामी विश्वभर त छौँ तर विश्वमा नेपालको बारेमा प्रभावकारी ढंगले सन्देश फैलाउन सकेका छैनौँ । नेपालमा विदेशी लगानीकर्तालाई लगानी गर्नको लागि  प्रभावित पार्न सकेका छैनौँ यो कामको सुरु गर्ने जिम्मा पनि हाम्रो काँधमा आएको छ ।  विदेशीले नेपालको परिस्थिति के छ त्यो पनि हेरेर बसेको हुन्छ ।  देशमा बल्ल संबैधानिक परिपाटीबाट सरकार बनेको छ । अब मुलुकको लागि पूरै अर्थतन्त्र परिवर्तनमा योगदान गर्नुपर्ने बेला हो । नयाँ युगको शूरुवात भनेको यहि हो । देशमा जननिर्वाचित सरकार बनेको छ । हामी विदेशमा रहेका एनआरएनले देशको समृद्धिको लागि योगदान दिने महत्वपूर्ण समय भएकाले मैले नयाँ युगको सूरु भनेको हो । अहिले विदेशी लगानी भित्राउनको लागि यो सुनौलो अवसर पैदा भएको छ  । अर्को कुरा नेपालमा अहिले पनि विदेशी लगानी कर्ताको लागि बनेका नियम कानुन निकै पुराना छन्, जुन नियम कानुनले विदेशी लगानी कर्तालाई आकर्षण  गर्दैन । २०३२ सालदेखिका ऐनहरु अहिलेसम्म कायम छन् । यसले विदेशी लगानी कर्तालाई विकर्षण गर्दछ । यदि विदेशी लगानी भित्राउने हो भने ती ऐन कानुन संशोधन गर्नु पर्दछ । तर, विदेशी लगानी कर्ताको लागि बनेका जति पनि नियम कानुन छन् ,अहिले पनि परिवर्तन गर्नसक्ने कुनै नेतृत्व नेपालमा देखिदैन । कसैले त्यो आँट गर्यो भने  पनि अख्तियारले समाउँछ कि भन्ने त्रास छ । देश विकाश गर्ने हो भने देश चलाउने नेतृत्वले आँट चाही गर्नुपर्छ ।

आफ्नो दुई वर्षे कार्यकालमा पुरा गर्ने कार्ययोजना के के  बनाउनु भएको छ, बताईदिनुन् ?

रोकिएको मेगा प्रोजेक्ट, लाप्राक नमुना बस्ती यो दुईवर्षमा, कुनै पनि हालतमा  निर्माणकार्य  पुरा गर्छौ । शंख पार्क पनि छिटै निर्माण गर्ने छौँ । निर्माणको हिसाबले यीनै हुन । मेगा प्रोजेक्ट सबै हुन, हामीले संसारभरबाट नेपालमा लगानी कर्ता लैजाने र देशको विकासको लागि भूमिका निर्वाह गर्नु पर्नेछ । एनआरएनको फाउन्डेसन छ , त्यसलाई मूर्त रुप दिन्छौँ । विगतमा हामीले हजार अभियान भनेर शुरु गनेका थियौँ , त्यसलाई अझ प्रभावकारी रुपमा संचालन गर्नका लागि एउटा संयन्त्र बनाउनु पर्नेछ । त्यसलाई निरन्तरता मात्र होइन,प्रभावकारी बनाउँछौ । एक जनताको हजारले देशको विकासमा ठूलो योगदान पुर्याउन सक्छ । विदेशी मुद्रालाई लगानी भेइकलको रुपमा विकास गर्दैछाँै , यसलाई मूर्त रुप दिन्छौँ । आजको दिनसम्म पनि नौ हजार स्कुल भूकम्पबाट प्रभावित नै छन् , एकले अर्को स्कुललाई सहयोग गर्नेगरी सिस्टर स्कुल बनाउनेछौं । स्वास्थ्य क्षेत्रमा सहयोगको लागि टेलिमेडिसिनको स्थापना गर्ने योजना छ । अहिले पनि ग्रामीण बस्तीहरुमा स्वास्थ्य सेवा र उपचार गर्ने राम्रो डाक्टरको अभाव रहेको छ । विकट ठाउँमा अहिले पनि धेरै मानिसहरु उपचारको अभावको कारण अकालमा ज्यान गुमाउनु परेको छ । त्यसकारण  डाक्टरसँग टेलिमेडिसिनको माध्यमबाट  दुरदराजका जनताले आफ्नो समस्या राख्ने र उपचार गर्न सक्ने कामको सुरुवात गरेको छौँ । अमेरिकामा बनेको आइफोन एक हप्तामा नेपालीको हात हातमा पुग्छ । अर्को नेपालीहरु भाग्यमानी छौँ , संसारमा बनेका नयाँ नयाँ टेक्नोलीहरु प्रयोगमा आएकालाई सजिलै प्रयोगमा ल्याउन सक्छौँ, विकसित मुलुकमा नयाँ विकासको लागि अझै नयाँ गर्ने पुरानो नष्ट गरेर नयाँ बनाउन समय लाग्छ , तर हामीलाई त्यो गर्न पर्दैन, विभिन्न देशमा बनेका अत्यन्तै राम्रो टेक्नोलोजि छन् , जुन हामी सजिलो गरी प्रयोगमा ल्याउन सक्छौँ । कम्तीमा एउटा जिल्लामा एउटा टेक्नोलोजी प्रयोग गर्ने मौका छ , त्यो गर्न सक्छौ । यसको लागि यहाँको सरकारी निकायमा पहल सुरु गर्छौ ।

नेपालको पर्यटन प्रवृद्धनको लागि अतिथि देवःभव भनेर अभियान चलाउनु भएको थियो । एक जना एनआरएन बराबर एक जना पर्यटक भन्नुभयो ।  अब पर्यटक प्रबृद्धनको लागि के कस्ता योजना ल्याउनु भएको छ ?

अभियान जारी छ । त्यसको संयन्त्र तयार हुनलाई समय लागेको हो । सोम सापकोटाको संयोजकत्वमा अतिथिदेबभव अभियान अगाडि बढ्छ , अलपत्र हुँदैन । विदेशमा रहेका सबै नेपालीले एनआरएनले जे, सञ्चालनमा ल्याएको छ त्यही प्रयोग गरौँ । एनआरएनको साथीहरु देशमा होटल खोल्नु भो भने सबै कार्यक्रम त्यहीँ गर्ने, बैक छ भने सबै कारोबार त्यहीँबाट गर्ने गर्नुपर्छ । हामीले पनि एक जना एनआरएनले गरेको कामलाई साथ दिनुपर्छ । सुरु गरेका कामलाई सफल बनाउन के गर्न सकिन्छ भन्ने सोँचौ । हामी नेपाली नेपालभन्दा सयौँ बर्ष अगाडि विकास भएका मुलुकहरुमा बसेका छौँ । नेपालीले विश्वमा आफ्नो पहिचानको लागि संघर्ष गर्नु पर्ने भएको छ , त्यसकारण देश बनाउनको लागि एनआरएनले गरेका कामको आलोजना होइन कि देश बनाउनको लागि सपोट गरेर अगाडि बढाउनुपर्छ । सकारात्मक सोचको विकास गरौँ ।


एनआरएनले उठाएका धेरै एजेण्डा संविधानमा समाबेस भएका छन्, दोहोरो नागरिकता दिने ऐन बन्न बाँकी छ । अब देशलाई केही दिने पालो एनआरएनको हो भनिन्छ । राष्ट्रनिर्माणमा साझेदार बनेर अगाडि बढ्ने बेला भएको छ । अन्तिममा संसारभर छरिएर रहेका एनआरएनलाई के आव्हान गर्नुहुन्छ ?

राष्ट्र निमार्ण गर्ने महाअभियान हो । यसमा एनआरएनको ठूलो भूमिका र दायित्व पनि छ । राष्ट्र निर्माणमा योगदान पुर्याउने महाअभियानमा लागेकालाई सम्मान भन्ने शब्दले पुग्दैन । नेपालको समृद्धिका लागि योगदान पुर्याउने महान् हुन । आफ्नो सबै कुरा थाति राखेर यस अभियानमा लागेका छन् , ति साथीहरुको इतिहासको पन्नामा नाम लेखिनुपर्छ । भोलि हाम्रा छोरा नातीले अमेरिका, जापान, क्यानडा, अष्ट्रेलिया बसेर देशको लागि के गर्यौ, देशलाई के दियौँ भन्ने प्रश्नको दवाफ दिन लायक हुनुपर्छ । उनीहरुले प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन । सबैभन्दा पहिला आफू बलियो बनौँ । देशको लागि भाषण भन्दा काम गर्यौँ । कोही, इन्जिनियर, बैक, पुनर्निमाण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा ध्यान दिएर काममा जुटौँ । नेपाल नेपालीले बनाउनु पर्छ भन्ने मान्यता राख्नु हुँदैन, विदेशी लगानी कर्ता र विदेशी टेक्नीसियनलाई पनि सँगै लिएर काम गर्न सक्नुपर्छ । हामी साँगुरो सोचाइ राख्नु  हुँदैन । विदेशी लगानी कर्तालाई पनि यो एउटा मौका छ । त्यो कुरा हामीले भन्न सक्नु पर्यो । सबै एनआरएन मिलेर संसार भरका मानिसको लगानी देशमा भित्राउन सक्यौ भने मात्र नयाँ नेपाल निर्माण हुन्छ । जो, विदेशी भेटे पनि  मुसुक्क हाँसेर नमस्कार गरेर स्वागत गरौँ । हाम्रो संकार भनेको आफू भोको बसेर पाहुनालाई मिठोचोखो खुवाउने देशका मानिस हौँ , त्यो नभूलौँ । यो संसस्कारलाई निरन्तरता दिऊ । आफ्नो मुलुकको इमेज राम्रो बनाउँ र सबैलाई देश प्रति आकर्षण पैदा गर्यौँ । सामान्य पर्यटकले एक प्लेट मम खाए पनि देशको लागि राम्रो हो । नेपालीहरु मायालु छन्, सबैलाई माया गर्दछन, प्राकृतिक सौन्दर्यता छ भन्नु पर्यो । सकारात्मक सोचका साथ  काम गरेको खण्डमा सबैले नेपालमा योगदान गरेको आभास हुन्छ । हरेक एनआरएन राष्ट्रको सदभाव दुत हौँ । हामी नेपालीले मात्रृभूमिको माटोलाई माया गरौँ र हरेक दिन धेरै होइन, देशका लागि तीन मिनेट सोच्न  अनुरोध गर्दछु । हाम्रो भावि सन्तानले हामीलाई बारम्बार याद गर्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com