चिरिबाबुलाई प्रश्न– तपाईंका सातवटा विदेश भ्रमणका उपलब्धि के?


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

शान्ति तामाङ

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सबभन्दा धेरै विदेश भ्रमण गर्ने स्थानीय तह प्रमुखमा पर्छन्।

निर्वाचित भएको नौ महिनामा उनले सातपटक विदेश भ्रमण गरे। उनी आठदिने जापान भ्रमण सकेर आइतबार फर्किएका हुन्। यो उनको तेस्रो जापान भ्रमण हो। यसअघि कोरिया दुईपटक, श्रीलंका र म्यानमार एक–एकपटक गएका छन्।

महर्जनपछि काठमाडौं महानगर मेयर विद्यासुन्दर शाक्य तीनपटक विदेश भ्रमणमा गएका छन्।

लगातार विदेश भ्रमणमा गएको आरोप खेपेका ललितपुर मेयर महर्जनलाई हामीले सोध्यौं– तपाईंका भ्रमणका उपलब्धि के हुन्? के यी सबै ठाउँमा तपाईं नै जानुपर्ने थियो?

उनले सुरुमा आफूमाथि लागेको आरोप खण्डन गरे।

‘विदेश भ्रमण मेरो रहर होइन। महानगरको हितका लागि हो,’ उनले भने, ‘पहिला प्रोजेक्टमा काम गर्दा नै मैले विश्वका थुप्रै देश घुमिसकेँ। मलाई घुम्ने रहर छैन।’

उनले आफ्ना कुनै पनि भ्रमणमा महानगरलाई आर्थिक भार नपरेको प्रस्टीकरण दिए।

त्यसपछि भ्रमणका उपलब्धिमा प्रवेश गरे।

उनका अनुसार पछिल्लो जापान भ्रमण फोहोरमैला व्यवस्थापनसम्बन्धी थियो। ‘ललितपुर महानगरले जापानबाट फोहोरमैला व्यवस्थापनका लागि अत्याधुनिक मेसिन पाउने पक्का भएको छ,’ उनले भ्रमणको उपलब्धि सुनाउँदै भने, ‘जापानका वातावरण राज्यमन्त्री टाडाहिको इटोले औपचारिक समारोहमै सहयोग प्रतिबद्धता गर्नुभएको छ।’

राज्यमन्त्री इटोकै निम्तामा उनी जापान गएका हुन्। वातावरण शाखाका इन्जिनियर, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू सँगै थिए।

निर्वाचित भइसकेपछि पहिलो विदेश भ्रमण पनि जापानकै थियो।

त्यतिबेला उनले ‘प्रकोप जोखिम न्यूनीकरण’ सम्बन्धी सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए। त्यही क्रममा जापानबाट आधुनिक दमकल सेट पाउने समझदारी भएको उनले बताए।

‘मेरो पहिलो भ्रमण नै फलदायी रह्यो। जापानले ललितपुर महानगरलाई दमकल सेट दिने भएको छ,’ उनले भने, ‘यो प्रक्रियामा छ। त्यसपछि हामीसँग पनि २१औं शताब्दीको पछिल्लो दमकल हुनेछ।’

संघीय मामिला तथा स्थानीय विकास, अर्थ र परराष्ट्र मन्त्रालयले दमकल ल्याउन सहमति जनाइसकेको उनले बताए। त्यही सम्मेलन क्रममा योकोहामाका मेयरले दमकललाई चाहिने जनशक्ति उत्पादन गर्न यहाँको वारुणयन्त्रका कर्मचारीलाई योकोहामामै लगेर प्रशिक्षण दिने प्रतिवद्धता जनाएका छन्।

महर्जनको दोस्रो भ्रमण दक्षिण कोरिया हो। त्यहाँ उनले ‘स्मार्ट सिटी’ माथि कार्यपत्र पेस गरेका थिए। उनले कार्यपत्रमा स्मार्ट सिटीबारे नेपालको अनुभव बाँडेका थिए।

‘अमेरिका स्वतन्त्र हुनुअघि नै काठमाडौं स्मार्ट सिटी थियो। त्यतिबेलै हामीकहाँ १० मिनेटको फरकमा घाम लाग्ने चोक थिए। १० मिनेटको दुरीमा ढुंगेधारा थियो,’ उनले भने, ‘१९५० दशकपछि प्रविधिलाई प्राथमिकता दिन नसक्दा हामी पछाडि पर्यौं।’

‘अब हामीलाई प्रविधिमा फड्को मारेर अघि बढ्न तपाईंहरूले सहयोग गर्नुपर्छ,’ कोरिया सम्मेलनमा आफ्नो भनाइ सम्झँदै महर्जनले भने।

श्रीलंकाको भ्रमण ‘सिटी नेट’ भन्ने संस्थाको आयोजनामा भएको हो। उक्त संस्थामा ललितपुर महानगर २८ वर्षदेखि सदस्य छ।

कार्यक्रममा १ सय २० जना मेयर सहभागी थिए। सोलका मेयर अध्यक्ष, क्वालालम्पुर र बैंककका उपमेयर उपाध्यक्ष र विश्व बैंक प्रतिनिधि महासचिव रहेको उक्त संस्थामा नेपालले यसपालि कार्यकारिणी सदस्यता पाएको छ। यो सदस्यता सन् २०२२ सम्म रहनेछ। यसबाट महानगरले आर्थिक तथा भौतिक सहयोग पाउने भएको छ।

‘नौ जनाको सदस्यताका लागि १४ जनाको उम्मेदवारी परेको थियो। त्यसमा मैले जितेँ,’ उनले भने, ‘त्यो फोरममा सदस्यता पाउनेबित्तिकै ललितपुर महानगरका तीनवटा विद्यालयमा भौतिक निर्माण तथा बालबालिकाको वृद्धि विकास निम्ति सहयोग आइसकेको छ।’

तेस्रोपटकको जापान भ्रमणबारे थप जानकारी दिँदै उनले भने, ‘फोहोरमैला व्यवस्थापनको त्यो कार्यक्रममा जानुअघि नै हामीले जग्गा किन्न पाँच करोड छुट्टयाएका थियौं। बुङमति र खोकनाका वडा अध्यक्षसँग समन्वय गरेर जग्गा लिजमा लिएको कागजपत्र बनाएर लगेको थिएँ।’ त्यही आधारमा सहयोग निश्चित भएको उनले बताए।

म्यानमारमा भने ‘युनाइटेड नेसन युनिभर्सिटिज’ ले विपदसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो। नेपाली टोलीको अवलोकन भ्रमणपछि म्यानमारबाट पनि प्रतिनिधि आएका थिए।

‘मलाई घुमेर हिँड्ने रहर छैन, तर नघुमिकन कसरी महानगर विकास गर्न सकिन्छ?,’ महर्जनले भने, ‘मेयरको नाममा आएका कतिपय निम्तोमा उपमेयर र अरूलाई पनि पठाएको छु। आफैं नगई नहुने ठाउँमा मात्र गएको हुँ।’

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन पनि जनप्रतिनिधि विदेश भ्रमणमा जानु आश्चर्य नभएको बताउँछन्।

‘महानगरकै आर्थिक, सामाजिक, प्रविधि, विकास लगायतमा विज्ञता हासिल गर्न र अन्तर्राष्ट्रिय स्तरमा भएका सहरी विकास अवलोकन गर्न यस्ता भ्रमण महत्वपूर्ण हुन्छन्,’ उनले भने।

प्रमुख र उपप्रमुख जाने विदेश भ्रमणको आर्थिक भार महानगरले उठाउनु नपरेको उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com