श्रीमतीको विभत्स हत्या गरी, खाल्डोमा पुर्ने श्रीमान् पक्राउ


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

फागुन २३, पाँचथर । श्रीमतीको विभत्स हत्या गरेर उम्कने प्रयास गरिरहेका फिदिम नगरपालिका–३ का डिकबहादुर मुखिया पक्राउ परेका छन् ।

श्रीमतीको हत्या गरेर प्रहरीमा श्रीमती हराएको उजुरी दिएर उम्कने प्रयास गरिरहेको अवस्थामा पाँचथर प्रहरीले १५ दिनपछि घटनाको यथार्थ पत्ता लगाएको हो ।

६१ वर्षीय डिकबहादुरले ४२ वर्षीया श्रीमती गंगामाया सुनुवार मुखियाको फागुन ५ गते मध्य राति घरमा कोही नभएको मौका छोपी उत्तिसको दाउरा र मुक्का प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसपछि उनले श्रीमतीको शव घर अघिको बारीमा खाल्डो खनेर पुरेपछि त्यसमाथि आलु र तोरी रोपेका थिए ।

मुखियाले प्रहरीलाई दिएको बयानअनुसार फागुन ५ गते गाउँमा एउटा विवाह थियो । डिकबहादुर दिनभर त्यही विवाहमा सरिक भएर रक्सीमा रमे । रक्सीले झम्म भएपछि साँझ उनी घर पर्के । उनी घर आउँदा श्रीमती गंगामाया खाना पकाइरहेकी थिइन् । रक्सी खाएको विषयमा श्रीमान् श्रीमतीबिच भनाभन भो । डिकबहादुरले श्रीमतीलाई दाउराले टाउकोमा हाने । गंगामायाको घटनास्थलमै मृत्यु भो ।

श्रीमतीको हत्या गरिसकेपछि डिकबहादुरले त्यही राति घर नजिकैको ३० मिटर पर आलुबारीमा ३ फिट गहिरो खाल्डो खने र त्यही खाल्डोमा गाडे । अनि प्रहरीमा ‘मेरो श्रीमती हराइन्, खोजी दिनु पर्यो’ भनेर निवेदन दिए ।

तर उनको जुक्ति धेरै दिन टिकेन । प्रहरीले घटना केरकार गर्दै जाँदा गंगामायालाई डिकबहादुरले मारेको ठहर भयो र प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीले पक्राउ गरेपछि बल्ल उनले साँचो कुरा बताए । अहिले उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख वामदेव गौतमले जानकारी दिए ।

श्रीमती हराएको भनेर उजुरी गरेपछि प्रहरीले व्यापक खोजि ग¥यो । आफ्न्तलगायत विभिन्न स्थानमा खोजी गर्दा समेत गंगामायाको अत्तोपत्तो भएन । मुखियाले शंकास्पद गतिविधि देखाउन थाले । पहिले भन्दा बढी रक्सी खाएर हो हल्ला गर्ने र रुने गर्न थाले । प्रहरीले मुखियाको गतिविधिमाथि अनुसन्धान गरिरहेको थियो ।

गाउँलेले पनि उनैमाथि शंका गरे । घरैमा बस्दै आएका डिकबहादुरको गतिविधिमा शंका देखिएपछि प्रहरीले उनलाई आइतवार नियन्त्रणमा लियो । हिरासतमा राखेर बयान लिने क्रममा उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काको कमाण्डमा गएको टोलीले खोजी गर्ने क्रममा गंगामायालाई गाडेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
घरमा छोराछोरी नभएको मौका छोपी मुखियाले आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरेर आलुबारीमा पुरेको प्रहरीले जनाएको छ ।
गंगामायाको कंकाल १५ दिनपछि उत्खनन् गरि पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com