सरकारको निर्णयले डोटेली जनतालाई अन्याय भएको महसुश-सिटौला
प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार
नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने ‘सरकारको निर्णयले डोटेली जनतालाई अन्याय भएको मैले महसुश गरेको छु ।’
सिटौलाले ७ नम्बर प्रदेशको राजधानी डोटी नबनाएर यहाँका जनतामाथि अन्याय भएको जिकिर गरेका छन् ।
आफ्नै साथीभाईहरु भएको मन्त्रीपरिषद्ले गरेको निर्णय र त्यसमा पनि मन्त्री बिरबहादुर बलायर डोटीकै भएको मन्त्रिपरिषद्ले गरेको निर्णय भएकाले यसमा आफुले धेरै टिप्पणी नगर्ने उनले बताए ।
बदलिँदो राजनीतिक परिस्थितिका बारेमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको धारणा बुझ्नका लागि प्रदेश नं. ७ को अनौपचारिक भ्रमण गर्ने क्रममा आईतबार डोटी पुगेका सिटौलाले नेपाली कांग्रेसले वर्तमान सरकारप्रति गुण र दोषको आधारमा व्यवहार गर्ने बताए ।
‘अहिले नै सरकारको बिरोध गरिहाल्नु पर्ने जरुरी छैन’ सिटौलाले भने ‘एक सय दिनको त हनिमुन अवधि नै हुन्छ, त्यसपछि सरकार कसरी अगाडि बढ्छ, त्यसै आधारमा हाम्रो समर्थन वा बिरोध हुन्छ ।’
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालका राजनीतिक दलहरुमा सामन्तिकरण र व्यापारीकरणको भावना रहेको बताएका छन् ।





