ओलीले महन्थलाई बालुवाटार बोलाएर भने- देश बनाउन मसँगै हिँड्नुस्,उपेन्द्रलाई भाउ दिएको गुनासो


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आइतवार बिहान आफ्नै निवासमा बोलाए ।

उपेन्द्र यादवलाई मात्रै भाउ दिएको भनेर मन दुःखाइरहेका राजपा नेताहरुकै आग्रहमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच यो भेटघाटको चाँजोपाँचो मिलाएका थिए एमाले उपमहासचिव विष्णु पौडेलले ।

निकै पुराना यी दुई मित्रबीच प्रधानमन्त्री निवासमा करीव साढे दुई घण्टा अन्तरंग कुराकानी भयो ।

मधेस आन्दोलन, त्यसप्रति ओलीको रुझान, अनि ओली प्रधानमन्त्री हुँदा मधेसको पूर्वाधार विकासका लागि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले लगाएको बजेटका बारेमा पनि त्यहाँ छलफल भए ।

मधेसको ‘मेजर स्केटक होल्डर’ राजपा भएकाले फोरमलाई मात्रै सरकारमा लैजाने वाम गठबन्धनको योजना हो कि भन्ने आशंका पनि ठाकुरले राखेको स्रोतको दावी छ ।

स्रोतका अनुसार अढाई घण्टाको वार्ताका क्रममा ओली र ठाकुरबीच खुलेर छलफल भयो ।

प्रधानमन्त्री ओलीले राजपालाई पनि सरकारमा आउन आग्रह गरे । उनले आफू संख्या देखाउने भन्दा पनि देश बनाउने उद्देश्यले प्रधानमन्त्री भएको भन्दै देश बनाउनका लागि राजपालाई पनि सँगै लिएर जान तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले एक दुईजना मन्त्री बन्ने कुरा ठूलो नरहेको भन्दै देश बनाउने मिसनमा सहभागी हुन ठाकुरलाई आग्रह गरे ।

फोरमले बढी मन्त्रालय मागेको भनेर वार्ता अवरुद्ध भइरहेका बेला राजपालाई पनि सरकारमा आउन आग्रह गर्नु प्रधानमन्त्रीको औपचारिकतामात्र हो कि साँच्चै नै पहल लिन खोजेको हो ? यो प्रश्नमा प्रधानमन्त्री निकट एक एमाले नेताले भने- यो औपचारिकताका लागि गरिएको आग्रह होइन, उहाँहरुलाई साँच्चै नै सरकारमा सहभागी गराएर देश बनाउने मिसनमा सँगै हिडाउन खोजिएको हो ।

र, यसो गर्दा एमालेले थप एक दुई मन्त्रालय गुमाउनपरे पनि तयार छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com