महिलाको वैदेशिक रोजगारः पितृसत्तालाई प्रहार


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

वैदेशिक रोजगारमा जाने महिलाको बारेमा कुरा गर्नुअघि समग्र नेपाली महिलाको अवस्थालाई विश्लेषण गर्नुपर्छ । तबमात्रै वैदेशिक रोजगारमा जाने महिलाका समस्यालाई सम्बोधन गर्न सकिन्छ ।

नेपालमा महिलाभित्र पनि विविधता छः दलित महिला, जनजाति महिला, पछाडि पारिएका महिला, भौगोलिक रुपमा विकटमा बसेका महिला, राज्यको सेवा सुविधाबाट बञ्चित महिला र सूचनाको पहुँचबाट वञ्चित महिला ।

जबसम्म पितृसत्ताबाट यो समाज मुक्त हुन सक्दैन्, तबसम्म महिला स्वतन्त्र भएर स–सम्मान बाँच्न पाउने वातावरण सिर्जना हुन सक्दैन । जबसम्म राज्यले महिलालाई एउटा मानव वा नागरिकको हैसियतले व्यवहार गर्दैन्, तबसम्म महिलाले हक अधिकार प्राप्त गर्न सक्दैनन् ।

महिला भएकै कारण विभिन्न विभेदहरू हुने गरेका छन् । घरभित्रै पनि महिलाहरू सुरक्षित छैनन् भने वैदेशिक रोजगारमा महिला असुरक्षित हुनु कुनै नौलो कुरो होइन ।

देश मै महिला असुरक्षित छन् । बाबुद्वारा छोरी बलात्कृत हुन्छे । एउटा मान्छेको लागि घर भन्दा ठूलो सुरक्षित ठाउँ अरु हुन सक्दैन । तर हामी महिलाहरू त्यही घरभित्रै असुरक्षित छौ । घरभित्रै छोरी असुरक्षित हुने देशका महिलाहरुलाई बेग्लै परिवेश, भाषा, धर्म, सँस्कृति, फरक भौगोलिक वातावरण, राजनीतिक वातावरण, हरेक किसिमले फरक ठाउँमा जाँदा धेरै चुनौती र गाह्रो त हुने नै भो । तर, धेरै चुनौतीका बाबजुद पनि महिलाहरू निकै ठूलो साहस र हिम्मत बोकेर पितृसतात्मक मूल्यमान्यतालाई तोड्दै वैदेशिक रोजगारमा गएका छन् ।

यसले पितृसत्तालाई ठूलो प्रहार भएको छ । महिलाहरू विदेश जानु हुँदैन भन्ने सोच छ । जब महिलाको कुरा उठ्छ, तब यौनिकतासँग जोडेर हेरिन्छ । महिला भनेको यौनिकता मात्र होइन्, सक्षम व्यक्ति पनि हो । महिलाले आयआर्जन गरेर परिवार, समाज र राष्ट्रको गरिबी निवारणमा टेवा पु¥याएको सवल पक्षलाई कहिल्यै पनि मुल्यांकन गरिएन । जुन विडम्वनाको कुरा हो ।

महिलाहरूले सशक्त भएर आर्थिक योद्धाको रुपमा गरेको योगदानको पाटोलाई कोही कसैले हेरेको पाईदैँन । यहाँ महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । हाम्रो बुझाइ, व्यवहार र हामीले बनाउने, लेख्ने नीतिहरू पनि महिला मैत्री छैनन् । जसका कारण महिला मान्छे भएर बाँच्न सकिरहेको अवस्था छैन ।

यो सम्पूर्ण कुराले महिलालाई वैदेशिक रोजगार जोखिम छ भनेर उल्लेख गरेको छ । अहिले ११ प्रतिभन्दा बढी महिलाको विप्रेषण (रेमिट्यान्स) मा योगदान छ । महिलाले पनि घर व्यवहार धान्न सक्छन् भन्ने मान्यता हाम्रो पितृसतात्मक समाजले स्वीकार गरिसकेको अवस्था छैन । यसले गर्दा वैदेशिक रोजगारमा पनि महिलालाई प्रतिबन्ध लगाइएको छ । पहिले महिलालाई ३० वर्ष उमेर नपुगेर वैदेशिक रोजगारीमा जान दिइदैन थियो भने अहिले २४ वर्ष उमेरको हदबन्दी छ ।

विज्ञानले समेत महिलाको परिपक्वता मापन गर्ने यन्त्र नबनाइसकेको अवस्थामा नेपाली समाजले भने महिलाको जीवनको निर्णय गरिदिएको छ । महिलालाई स्वतन्त्र भएर हिँड्ने वातावरण छैन ।

हामी महिला सशक्तिकरणको कुरा गर्छौ र अर्को महत्वपूर्ण पाटो आर्थिक सशक्तिकरणलाई लिन्छौ । अहिले सामाजिक, आर्थिक शसक्तिकरणलाई महत्व दिएर वैदेशिक रोजगारमा जान चाहने होस् वा गएर फर्किएका महिला, अथवा जाने क्रममा रहेका महिलालाई आर्थिक सशक्तिकरण गर्नु महत्वपूर्ण हुन्छ । उनीहरूको आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने महत्व दिएर हेर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारमा गएका महिलाले दुख पाएको खण्डमा ‘त्यै खान गएकी थिइस्, दुःख पाइस्, ठिक्क भो’ भन्छन् । सुःख पाएर कमाएर आए ‘यसले गतिलो काम गरेर आएकी होला र ?’ भनिन्छ । केही गरेर पनि सुःख छैन ।

अहिले नेपाल सीडको पक्ष राष्ट्र भइसकेको अवस्था छ । सीडले स्पष्ट भनिसकेको छ कि ‘कुनै पनि व्यक्ति स्वतन्त्र रुपबाट घुमफिर गर्न पाउनु उसको स्वतन्त्रता हो । व्यक्तिको अधिकार हो ।’ तर नेपालले भने कहिल्यै पनि स्वीकारेको अवस्था छैन ।

नेपालको संविधानले नै समानताको सिद्धान्तको आधारमा हरेक नागरिक बराबर हुन् भनेको छ । संविधानमा रोजगारी गर्न पाउनु हरेक नागरिकको अधिकार हो भनिए पनि त्यो सिंहदरबारमै थन्किएरको अवस्था छ । व्यवहारमा लागू नभएकै कारण कति महिलाहरू एउटा दलालको पछि लागेर बाध्यात्मक अवस्थामा लुकेर, छिपेर विदेश जानुपर्ने अवस्था राज्यले बनाएको छ ।

पहिलेको वैदेशिक रोजगार ऐन २०४२ ले महिलालाई वैदेशिक रोजगारीमा जानका लागि प्रतिबन्ध लगाएको अवस्था थियो । कामदारको हैसियत दिएको थिएन । त्यस विरुद्ध हामी लड्याै‌ । २०६४ मा वैदेशिक ऐन आयो । ४२ को ऐनको दफा १२ मा महिला र बालबालिका वैदेशिक रोजगारमा जान नपाउने भनेर भनेको अवस्था थियो । तर ०६४ को ऐनको दफा ८ मा यसलाई परिवर्तन गरियो ।

दफा ८ मा लिंगको आधारमा कुनै पनि कामदारलाई विभेद गरिने छैन् भनिएको छ । त्यो हाम्रो उपलब्धी हो । अर्को चुनौति भनेको कार्यान्वयन पक्ष फितलो छ । हामीले यसलाई प्रभावकारी रुपमा कान्र्यान्वयन हुनुपर्छ भनेर आवाजहरू उठाइरहेका छौं । वैदेशिक रोजगार भनेको व्यक्तिको एउटा ‘इन्फर्म च्वाइस’ हो । जानकार भएर मात्रै वैदेशिक रोजगारमा जाने वातावरण सिर्जना हुनुपर्छ ।

रोजगारी चयन गर्न पाउनु एउटा व्यक्तिको अधिकार हो । महिला पनि एउटा व्यक्ति, नागरिकको हैसियतले वैदेशिक रोजगारमा जान पाओस् । दक्ष र योग्य भएर मात्रै विदेश जानुपर्छ । राज्यले यस किसिमको वातावरण सृजना गर्नुपर्छ । अभिभावकको दायित्व निभाउनुपर्छ । महिला कामदार भएको मुलुकसँग दोहोरो श्रम सम्झौता गर्नुपर्छ । महिला मैत्री सम्झौता गर्नुपर्छ ।

नेपाली महिलाहरू वैदेशिक रोजगारमा जाने भनेको खाडी मुलुकमा हो । जहाँ धेरैजसो घरेलु कामदारमा जान्छन् । अधिकांश नेपाली महिला धेरै पढेलेखेका छैनन् । उनीहरूको सिप भनेको घरभित्र काम गर्न सक्ने सिप हो । आफूले जानेको सिप विदेशमा गएर पनि उपयोग गर्ने ।

अर्को नेपालमा घरेलु कामदारको कुनै सम्मान छैन । घरेलु काम पनि काम हो र भन्ने हिन सोच छ । त्यही काम गर्न विदेशमा गयो भने १५ हजार, २० हजार कमाउँछन् । त्यस कारणले पनि महिला वैदेशिक रोजगारीमा आकर्षित भइरहेका छन् ।

अर्को कुरा कस्ता महिलाहरू वैदेशिक रोजगारमा जान्छन्, कहाँ जान्छन् भनेर हेर्नु र विश्लेषण गर्नु आवश्यक छ । आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, जातिगत हरेक किसिमले पछाडि पारिएका महिलाहरू वैदेशिक रोजगारमा जान्छन् । घर भित्रै र घर बाहिर हिंसामा परेका महिलाहरू नै विदेश जान्छन् । जसको हैसियत यहाँ गरिखान सक्ने छैन । केही गरिखान नसक्ने भएपछि विकल्प रोज्नेहरुका लागि अन्तिम विकल्प भनेको वैदेशिक रोजगार बनिदिन्छ ।

दलित, जनजाति, कम पढेलेखेका, एकल महिला, सम्बन्ध विच्छेद भएका, श्रीमानले सौता ल्याएका, बालबच्चाको बोझ भएका, बालबच्चालाई पढाउनकै लागि, वेरोजगार श्रीमानलाई सहयोग गर्नका लागि, घरमा वृद्धा परिवारको स्याहार गर्नुपर्ने र पारिवारिक दायित्व भएका दिदीबहिनी नै विदेश गएको अवस्था छ ।

उनीहरूलाई गरिखाने ठाउँ छैन । अनपढ नभएपछि निजामतिमा उनीहरूको हैसियत हुँदैन । आफ्नो नाममा पुँजी छैन । चल अचल सम्पत्ती छैन । व्यापार व्यवसाय गराँै भन्दा पनि समस्या छ । वातावरण पनि छैन भनेपछि सबैभन्दा सजिलो पल्लो घरको साइला दाईले कुवेत जाम भनेको छ । साउदी जाम भनेको छ । दुबई जाउँ भनेको छ । महिनामा दश हजार पर्छ भनेर त्यो प्रलोभनमा परेर पनि विदेश भइरखेको अवस्था छ । तर वैदेशिक रोजगारमा जाने सबै महिला समस्यामा पनि परेका छैनन् ।

विदेशमा राम्रो पैसा कमाएर नेपालमा घर जग्गा जोडेका महिलाहरू पनि छन् । आफ्नो पौरखले घर बनाएको, खेतिपाती जोडेको, बालबच्चाको शिक्षा, स्वास्थ्यमा लगानी गरेको अवस्था पनि छ । तर वैदेशिक रोजगारीमा महिलाले गरेको प्रगति भन्दा केही महिलाहरूले दुख पाएका घटनाले मौ धेरै प्राथमिकता पाएका छन् । जसले गर्दा वैदेशिक रोजगार महिलाका लागि सम्मानित बन्न सकेको छैन ।

(मञ्जु गुरुङ, वैदेशिक रोजगारीमा जाने महिलाहरूको हक हित र संरक्षणका लागि काम गर्दै आएको गैर सरकारी संस्था ‘पौरखी नेपाल’ का संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँसँग महिला खबरका लागि सन्दिप विकले गर्नुभएको कुराकानी ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com