पार्टी एकता टुंगोमा पुर्‍याउन एमाले–पेरिसडाँडामा माओवादी बैठक


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउन एमाले माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले काम सुरु गरेका छन् । त्यसैक्रममा सांगठनिक तथा अन्तरिम विधान निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज छ ।
माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको बैठक बस्न लागेको हो । एमाले नेता रघुवीर महासेठका अनुसार आजको बैठक पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बस्ने तय भएको थियो ।

कार्यदलमा माओवादी केन्द्रबाट बर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा सदस्य छन् भने एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट नेताहरु सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र महासेठ सदस्य छन् ।

७ फागुनमा एकताको आधार पत्रमा सहमति हुँदा एकतालाई अन्तिम टुङ्गोमा पुर्‍याउन दुई कार्यदल गठन गरेका थिए । तिनमा सांगठनिक व्यवस्थापन तथा विधान निर्माण सम्बन्धी कार्यदल र बैचारिक राजनीतिक प्रतिवेदन निर्माण सम्बन्धी कार्यदल थियो ।

दुबै कार्यदललाई विहीबार (१० फागुन) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिनुका साथै संयोजक समेत तोकिएको थियो । आज बैठक बस्न लागेको कार्यदलको संयोजक माओवादी केन्द्रका बादल संयोजक तोकिए भने अर्को कार्यदलको संयोजक एमाले बरिष्ठ नेता माधव नेपाल तोकिएका छन् ।

नेता नेपाल नेतृत्वको कार्यदलमा एमालेबाट उपाध्यक्ष भीम रावल, सचिव प्रदीपज्ञवाली, नेता सुवास नेम्वाङ र रघुजी पन्त सदस्य छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com