माओवादीको दसैं : टीका–जमरा नमान्ने तर दसैं मान्ने !


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

शान्ति प्रक्रियामा आएसँगै माओवादी नेताहरूमा पनि दसैंतिहारलगायतका चाडपर्वको मोह निकै बढ्दै गएको छ । सामन्ती संस्कारलाई नमान्ने भन्दै विद्रोह गरेका माओवादी नेताहरूले पछिल्लो समय भने दसैंलगायतका चाडपर्वलाई राम्रैसँग सदुपयोग गर्न थालेका हुन् ।

यस वर्षको दसैंलाई राम्रै सदुपयोग गर्ने योजनामा रहेका माओवादी नेताहरूले टीका र जमरा भने नलगाउने भएका छन् । यस वर्षको दसैंमा पारिवारिक तथा राजनीतिक भेटघाट र अध्ययनमा बिताउने योजना उनीहरूले बनाएका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल माओवादीबाट अलग भएका दुई वरिष्ठ नेता मोहन वैद्य र डा. बाबुराम भट्टराईसहितका नेताहरूले दसैं मान्ने तर टीका र जमरालाई भने नमान्ने निष्कर्ष आफ्ना सहयोगीहरूलाई सुनाएका छन् ।

दसैंमा नयाँ पुस्तक अध्ययन गर्ने, आफन्तसँग रमाइलो गर्नेदेखि पार्टी कार्यकर्तासँग छलफल तथा भेटघाट गर्ने योजनासमेत बनाएका छन् । प्रधानमन्त्री दाहालले दसैंको फुर्सदिलो समयमा संविधान कार्यान्वयनको रोडप्याप तयार पार्ने योजना बनाएका छन् ।

सोही कारण प्रधानमन्त्री दाहाल दसैंमा राजधानीबाहिर जाने कुनै पनि कार्यक्रम नबनाई दसैंका फुर्सदिलो समयमा निश्चित व्यक्तिलाई बोलाएर संविधान कार्यान्वयनको रोडम्यापबारे छलफल गर्ने योजनामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । दाहालले दसैंमा कहिले पनि टीका नलगाएकाले यो वर्ष पनि टीका जमारा भने नलगाउने भएका छन् । उनको यो वर्षको दसैं अध्ययन, चिन्तन मननका साथै पारिवारिक तथा राजनीतिक भेटघाटमा बित्ने भएको छ ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पनि टीका जमरा लगाउने छैनन् । उनको दसैं पनि पारिवारिक तथा राजनीतिक भेटघाट तथा अध्ययनमा बित्ने भएको छ । पूर्वमाओवादी नेता तथा नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले भने दसैंमा के गर्ने भन्ने अझै निष्कर्ष निकालिसकेका छैनन् । माओवादी नेता गोपाल किराँतीले अहिलेसम्म कहिल्यै पनि टीका, जमरा नलगाएको बताउँछन् ।

माओवादी युवा नेता लेखनाथ न्यौपाने दसैं औपचारिक हिसाबले कहिले पनि नमानेकाले यसपटक पनि धर्म र परम्परासँग गाँसिएको दुर्गा जमरा राख्ने, टीका लगाउनेलगायत गरेर दसैं नमनाउने बताउँछन् । तर, आफन्त र पुराना साथीभाइ भेट्न जन्मथलो गोरखा जाने तयारीमा उनी छन् । माओवादी नेता मणि थापा भने धर्मसँग जोडेरभन्दा पनि संस्कृति र परम्पराको हिसाबले सामान्य ढंगले दसैं मनाउने बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com