शीर्ष नेताले कसरी मनाउँदै छन् दसैँ ?


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ असोज बिहान शुभसाइतमा ८ः४५ मा टीका ग्रहण गर्ने भएकी छिन् । उनकी आमा छोराका साथ अमेरिकामा रहेकाले यस वर्ष उनको हातबाट राष्ट्रपतिले टीका ग्रहण नगर्ने प्रेस संयोजक माधव शर्माले बताए ।

राष्ट्रपतिले ११ देखि १२ बजेसम्म सल्लाहकार समूह र कार्यालयका कर्मचारीलाई टीका लगाइदिनेछिन् । १ देखि २ बजेसम्म प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका इच्छुक अधिकृतले टीका ग्रहण गर्ने गरी समय व्यवस्थापन गरिएको शर्माले जानकारी दिए । दिउँसो २ देखि ५ बजेसम्म भने राष्ट्रपतिले इच्छुक सर्वसाधारणलाई टीका लगाइदिनेछिन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दसैँमा टीकाटालो गर्दैनन् । दसैँका दिन उनले परिवारका सदस्यहरूसँगै समय बिताउने योजना बनाएका छन् । नयाँ किताब अध्ययन गर्ने, नयाँ योजनाका विषयमा सोच्नेजस्ता काममा प्रधानमन्त्रीले आफूलाई सरिक गराउने स्वकीय सचिव प्रकाश दाहालले बताए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनेछन् । दसैँ मनाउन मोहनप्रसाद काठमाडौं आइसकेका छन् । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले दसैँमा छुट्टै कार्यक्रम नरहेकाले औसत नेपालीले झैँ दसैँ मनाउने जानकारी दिएका नयाँ पत्रिका मा खबर छ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई काठमाडौंमै परिवारका साथ दसँै मनाउने योजनामा छन् । उनले कोटेश्वरमा रहेका भाइको घरमा पुगी बुबाको हातबाट टीका ग्रहण गर्नेछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको यो दसैँमा टीका छैन । आफन्तको निधनका कारण टीका नभएपछि घरमा सामान्य जमघट गरेर दसैँ मान्ने तयारी उनको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com