अमेरिकाका तीन नेपाली संस्था एकजुट, राष्ट्रिय सम्मेलन सेप्टेम्बरमा


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

अमेरिकामा रहेका तीन नेपाली संस्थाहरु एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका एन्मा, नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिका नासिया र एसोसिएसन अफ नेपलिज इन अमेरिका एननए अबदेखि एकजुट भएर अगाडि बढ्ने भएका छन् । एन्मा, नासिया र एएनएको पहिलो राष्ट्रिय सम्मेलन आगामी सेप्टेम्बरमा हुने भएको छ ।

यसअगाडि एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका एन्मा र नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिका नासियाले संयुक्त सम्मेलन गर्दै आएका थिए । अब एएनए पनि थपिएर राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । तीनै संस्थाहरु एकजुट भएर सम्मेलन गर्न लागेपनि संस्थाहरु मर्ज हुन लागेको भने होइन ।

एन्माका अध्यक्ष बाला घिमिरे, नासियाका अध्यक्ष माधव ढकाल र एएनएका अध्यक्ष मेदिनी अधिकारीले संयुक्त बक्तब्य जारी गर्दै आगामी लेबर डे सप्ताहन्तमा पहिलो राष्ट्रीय सम्मेलन गर्न लागिएको जानकारी दिएका हुन् । मिलेर काम गर्दा नेपाली समुदायलाई अझ प्रभावकारी रुपमा सेवा दिन सकिने तीन संस्थाका अध्यक्षहरुको विश्वास रहेको छ ।

नेपाली समुदायका सदस्यहरुले सामना गर्ने तत्कालिन विषयको समाधानका लागि आफूहरु सामुहिक प्रयासका साथ लाग्ने उनीहरुले बताएका छन् । साथै उनीहरुले अमेरिकामा रहेका सामाजिक संस्थाहरु र समुदायका सदस्यहरुलाई एकीकृत भएर अगाडि बढ्ने दिशामा हातमा हात मिलाउन आब्हान समेत गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com