वातावरणमन्त्री र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलैना बी टेल्लिजबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटमा उनीहरुबीच मन्त्रालयका कामका प्राथमिकता र वातावरण प्रदूषण नियन्त्रणका बारेमा कुराकानी भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

भेटमा मन्त्री जोशीले नेपालको विकास प्रयासमा अमेरिकी सहयोग तथा समर्थनका लागि नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा अमेरिकी सहयोगको निरन्तरता र वृद्धिका लागि आग्रहसमेत गरेका थिए ।

साे अवसरमा उनले वातावरण संरक्षण र व्यवस्थापन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन, नवीकरणीय र वैकल्पिक ऊर्जा प्रवद्र्धन, जल तथा मौसम विज्ञान सम्बद्ध सेवा र जनसङ्ख्या व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको हुँदा अमेरिकालगायतका विकास साझेदारबाट यी क्षेत्रमा थप सहयोग हुने आशा व्यक्त गरे ।

उक्त अवसरमा अमेरिकी राजदूत टेप्लिजले नेपालको वातावरण प्रदूषण नियन्त्रणका लागि भएका पहलका बारेमा चासो राख्नुका साथै वातावरणीय प्रभाव मूल्याङ्कन र विकासका परियोजना सँगसँगै कसरी जान सक्छन् भन्ने जिज्ञासा राखेको बताइएको छ ।

साथै उनले आगामी दिनमा अमेरिकी सरकारले वातावरण संरक्षण, जलवायू परिवर्तन व्यवस्थापन र जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा नेपाललाई अझ बढी सहयोग गर्ने आश्वासन दिएको वातावरण सचिव विश्वनाथ ओलीले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com