नेपाल आउँदा यी ठाउँमा पनि जाने भए भारतीय राष्ट्रपति


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

आगामी कात्तिक महिनामा नेपाल भ्रमणमा आउने भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा रहँदा तीन धार्मिक तथा पर्यटकीय स्थानको अवलोकन गर्ने भएका छन्  । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुखर्जीले पोखरा, जनकपुर र लुम्बिनीको भ्रमण गर्ने गरी तयारी सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी आगामी कात्तिक १७ गते तीनदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणको मिति टुङ्गो लागेपछि दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासहरू आन्तरिक तयारीमा जुटेका छन् । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको छ ।

भारतको राज्य व्यवस्था अनुसार राष्ट्रपति राज्यप्रमुख भए पनि कार्यकारी अधिकार भने सरकारप्रमुखका रूपमा रहेका प्रधानमन्त्रीसँग रहन्छ । आलङ्कारिक राष्ट्रपतिका रूपमा रहनुभएका मुखर्जीको भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता वा सहमति भने नहुने परराष्ट्रका अधिकारीहरूले जानकारी दिए ।

“भ्रमण उच्चस्तरीय भए पनि राष्ट्रपति संवैधानिक पद हो”, परराष्ट्रका एक अधिकारीले भने , “त्यसैले यसमा दुई देशबीच महत्त्वपूर्ण विषयमा छलफल हुन्छजस्तो लाग्दैन । यो एक प्रकारले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन गरिने सद्भाव भ्रमण मात्र हो । ”

परराष्ट्रका अधिकारीहरूले भ्रमणको तयारी तीव्र बनाइएको जानकारी दिएका गोरखापत्रमा खबर छ । मुखर्जीको भ्रमण स्थगित नभएमा उनी नेपाल भ्रमण गर्ने भारतको दोस्रो राष्ट्रपति हुनेछन् । यसअघि सन् १९९७ मा तत्कालीन भारतीय राष्ट्रपति आरके नारायणनले नेपालको भ्रमण गरेको थियो । नारायणनपछि भारतको कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैन ।

करिब आठ सय किलोमिटर खुला सीमा रहेको दुई छिमेकीबीच अत्यन्तै निकट सम्बन्ध रहे पनि भारतका तर्फबाट १८ वर्षसम्म नेपालमा उच्च तहको भ्रमण भएको थिएन । नेपालबाट भने निरन्तर उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेपछि ‘एकोहोरो उच्चस्तरीय भ्रमण’को स्थिति टुङ्गिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com