दाङमा मापसे कारवाहीबाट ६ महिनामा ४० लाख राजस्व संकलन


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

दाङमा मदिरा सेवन गरि सवारी चलाउनेहरूलाई कारवाही गर्दा ६ महिनामा ४० लाख राजस्व संकलन भएको छ।

६ महिनाको अवधिमा मापसे गरि सवारी चलाउने चारसय दुईजनालाई कारवाही गर्दा ४० लाख रुपैयाँ दुई हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले बताए।

साउनदेखि पुस मसान्तसम्म मापसे गरेर सवारी चलाउने चारसय दुईजना चालक कारवाहीमा परेको वाग्लेले जानकारी दिए। त्यसमध्ये सबैभन्दा बढी तीनसय ४७ जना मोटरसाईकल चालक मापसे कारवाहीमा परेको उनले बताए। यो अवधिमा जीप कार १६ वटा, टेम्पो १४ वटा, ट्रयाक्टर १२ वटा, ट्रक नौं वटा, बस चारवटा मापसे कारवाहीमा परेको वाग्ले जानकारी दिए।

नियमविपरीत सवारी चलाउनेलाई कारवाही गर्दा झन्डै ९० लाख राजस्व संकलन

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेहरूलाई कारवाही गर्दा झन्डै ९० लाख राजस्व संकलन गरेको छ। ६ महिनामा १४ हजार ६ सय ५३ सवारी कारवाहीमा परेको र उनीहरूबाट ८९ लाख ७२ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिएका हुन्।

यो अवधिमा बस १ हजार ३ सय ८०, ट्रक २ हजार ७ सय ६ , जीप-कार १ हजार ७ सय ८८, मोटरसाइकल ६ हजार ७ सय ४३, ट्रयाक्टर १ हजार ६ सय ८९ र टेम्पू ३ सय ४३ वटा कारवाहीमा परेका छन्।

सवारी नियम विपरीत सवारी चलाउनेहरूमध्ये साउनमा २ हजार ५ सवारी चालकलाई कारवाही गर्दा १२ लाख ३५ हजार राजस्व संकलन भएको उनले बताए। त्यस्तै, भदौमा २ हजार ५ सय ९८ सवारी कारवाहीबाट १६ लाख ४५ ,असोजमा २ हजार ६ सय सवारी कारवाही गर्दा १५ लाख ५७ हजार ५ सय , कात्तिकमा २ हजार ७ सय ५७ सवारी कारवाहीबाट १६ लाख ७७ हजार ,मंसिरमा २ हजार १ सय ९५ सवारी कारवाहीमा १३ लाख २ हजार ५ सय र पुसमा २ हजार ५ सय ९८ सवारीलाई कारवाही गर्दा १५ लाख ३७ हजार राजस्व संकलन भएको प्रमुख वाग्लेले जानकारी दिए।

दाङमा ६ महिनामा ४२ जनाको मृत्यु

‘दाङ नेपालमै सवारी दुर्घटनाको दृष्टिकोणले चार नम्वरमा पर्ने गरेको छ र त्यसको प्रमुख कारण ड्रिंक ड्राईभ नै हो,’ वाग्लेले भने। बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको भएपनि क्षेत्र फलका दृष्टिकोणले नेपाकलै सबैभन्दा ठूलो उपत्यका भएको हुँदा थोरै जनशक्तिले काम गर्न केही चुनौती रहेको उनले बताए।

साना सावरी र निजी सवारी चालकहरू बढी अटेरी हुने गरेको, बिना लाईसेन्स र आवश्यक कागजपत्र विना नै सवारी चलाउनेहरूको संख्यापनि धेरै रहेको वाग्ले बताए। ‘पक्राउ परेपछि म यस्तोको छोरा हुँ भन्ने गर्छन् र आफन्तले पनि एक पटक छोडिदिन आग्रह गर्छन् जसले गर्दा उसलाई प्रोत्साहन मिल्छ,’– वाग्ले भने, ‘अन्तत : त्यसले उनीहरू अकालमै मृत्युको मुखमा पुग्छन्। मापेस र काजपत्र चेकजाँच गरेर ट्राफिक प्रहरीले उनीहरूकै जिऊ ज्यानको सुरक्षा गर्न खोजेको भएतापनि उल्टै ट्राफिकलाई नै नकारात्मक देख्ने, छलेर हिँड्ने प्रवृतिले समेत दुर्घटना निम्तने उनले बताए। यसैबीच दाङमा ६ महिनाको अवधिमा भएका ७४ सवारी दुर्घटनामा परि ४२ जनाको मृत्यु भएको वाग्लेले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com