माओवादी केन्द्रले लगायो प्रदेश ४ को सभामुखको टुंगो,नेत्रनाथ पक्का


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ ।

शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले सभामुखसँगै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि समेत टुंगो लगाएको हो ।

सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको हो । नेत्रनाथ पर्वतको प्रदेश सभा क बाट निर्वाचित भएका थिए ।

‘सभामुखमा धेरैको आकांक्षा थियौं तर, नेत्रनाथजीलाई सभामुख तोक्ने निर्णय गरिएको हो,’ सभामुखको दाबादारसमेत रहेका सांसद हरिबहादुर चुमानले जानकारी दिए ।

सभामुखका लागि नेत्रनाथसँगै हरिबहादुर, आशा खनाल, गायत्री गुरुङ लगायतको दाबी थियो । सभामुखमा नेत्रनाथलाई तोकर अन्य पदमा तथा मन्त्री मिलाउने गरी बैठकले टुंगो लगाएको हो ।

बैठकले माओबादी संसदीय दलको नेतामा हरिबहादुरलाई जिम्मबारी दिने निर्णय गरेको छ भने रामजी बराल उपनेता बनेका छन् । प्रमुख सचेतक गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको सांसद चुमानले जानकारी दिए ।

सभामुख चुन्न प्रदेशसभामा फागुन ३ गते निर्वाचन हुँदैछ । एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले नेत्रनाथ अधिकारी सभामुख बन्ने पक्का भएको छ ।

६० सदस्यीय प्रदेशसभामा माओवादीका १२ सांसद छन् । सभामुख, सचेतक लगायत टुंग्याएसँगै माओवादी सांसदले मन्त्री पदका लागि लबिङ गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com