किन हुन्छ धेरै सडक दुर्घटना, किन भेटिदैनन् त्रिशुली नदीमा खसेका सवारी साधनहरु ?


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

नेपालको अधिकाँस सडक साँघुरो र घुमाउरो र भौगोलिक बनावट अनुसार नै बनेका बाटा । भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती । सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्ड । त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा त्रास भैरहन्छ ।

तराई देखी पहाडका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा दैनिकजसो दुर्घटना भैरहेको छ । कहिले रात्रि बस खस्छ, कहिले मालवाहक ट्रक, कहिले प्राईभेट जीप ।

त्रिशुलीमा खसेर कति बेपत्ता भए भन्ने अझै लेखाजोखा छैन । आज विहानै कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर काठमाडौं फर्कदै गरेका  सिचाई मन्त्रालयका सचिव रामानन्द यादव चढेको जीप धादिङको बेनीघाटरोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । खसे लगतै उद्धारमा गएका गोताखोर टोली ,नेपाली सेना, जनपथ प्रहरी, स्थानीयबासीको सहयोगमा केही समयको खोजी कार्या पछि सचिव यादवको शव नदी बाट निकालियो तर उनिसगै रहेका यादवका उनका २२ वर्षीय छोरा सन्तोष यादव र एक जना नाम नखुलेको किशोरी को शव भने अहिले सम्म फेला पार्न सकिएको छैन । यादव सगै दुर्घटनामा परेका गाडी चालक लाई घाइते अवस्थामा स्थानियले उद्धार गरि उपचारको लागी काठमाडौं ल्याइयो ।

 

  
धेरै सडक दुर्घटना हुनुका आठ कारण

१ सडकको अवस्था
अहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे, खण्ड सहित र कच्ची) सडकको कुल लम्बाइ ७० हजार ६ सय किमि पुगेको छ । ती सडकमध्ये करिब २५ हजार किमि सडक वर्षभर नै यातायात सञ्चालन योग्य छन् । त्यसमध्ये ११ हजार किमिमा मात्र कालोपत्रे गरिएको छ । हामीकहाँ कुनै पनि सडकको ट्रयाक खोल्नेबित्तिकै सवारी सञ्चालन गरिन्छ । प्राविधिक रूपमा ‘अनफिट’ सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ ।

२ ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यून, सानो
सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्नेे विधि नै सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने सम्भावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ । तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशतमा मात्र अडिट गरिएको छ । यसको साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ । भने बनेका सेफटी अडिट पनि सानो हुने गरेका छन् ।

३ सवारीसाधनको अवस्था
०५६ मा सरकारले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको छ । साथै, यस्ता सवारीसाधन अनिवार्य पत्रु गर्नुपर्नेछ । तर, व्यवसायीले तोकिएको अवधि नाघेका सवारीसाधन पत्रु गर्ने गरेका छैनन् । यातायात व्यवस्था विभागले पनि अनुगमनमा कडाइ गर्न सकेको छैन । यसकारण पुराना सवारीसाधनको ब्रेक तथा अन्य मेसिन विग्रिँदा वा काम नगर्दा पनि दुर्घटनामा पर्ने गरेका छन् ।

 

४ सवारीचालकको (अ)दक्षता र (कम)अनुभव,
नेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । यस्तो निश्चित मापदण्ड नहुँदा व्यावसायिक रूपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । किनकि उसमा अनुभवको कमी हुने नेपाल ट्राफिक इन्जिनियर हरूको भनाइ छ । यसको साथै, ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन् भने चालकले मादक पदार्थ सेवन गरेर सवारी साधान चलाउदा समेत दुर्घटना बढ्ने गरेको छ ।

५ यात्रुको ढिपी
यात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको ट्राफिक इन्जिनियरहरूको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउने लगायत व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको छ ।

६) क्षमताभन्दा बढी यात्रु
देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा देखिने एउटा ‘ट्रेन्ड’ क्षमताभन्दा बढी यात्रु बोक्नु हो । प्राविधिक रूपमा सक्षम नरेहका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको पाइन्छ ।

७) तीव्र गति
सडक विभागले गरेको अध्ययनले सवारीसाधनको तीव्र गतिलाई पनि दुर्घटनाको कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित गति तोकिएको हुन्छ । जबकि चालकले सो मापदण्ड तोडेर सवारी हाँक्दा पनि दुर्घटना भएको छ । त्यस्तै, सवारीसाधन चलाउँदा अन्य विषयमा ध्यान केन्द्रित गर्दा, क्षमताभन्दा बढी भार बोकाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने अध्ययनले देखाएका छन्।

८ अन्य कारण
वर्कसपको मापदण्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियमित गर्ने ऐ– नियम समय सापेक्षित छैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ‘ड्राइभिङ ह्याबिट’ परिवर्तन नभएको देखाएको छ । यसले पनि दुर्घटना बढाएको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन ।

किन फेला पदैनन् त्रिशुलीमा खसेका सवारीसाधनहरु ?
नेपालका नदीहरु जस्तै त्रिशुली नदी पनि खोंच र पहराको कुना हुँदै बगेको छ । यो नदीको किनार भएर जाने धेरै सडकखण्ड बढी दुर्घटना हुने स्थलको रुपमा चिनिन्छ । दासढुङ्गा वा घोप्टेभिर जहाँ दुर्घटना भएपनि खस्ने त्रिशुलीमा नै हो ।

वर्षायाममा नदीको बहाव बढी हुने भएकोले त्रिशुलीमा बेपत्ता हुनेहरु भेटिने सम्भावना कम हुने उद्धारकर्ता बताउँछन् । गाडी खस्दा गाडीको पाङ्ग्रा झरेको छैन भने त्यसभित्रै रहेकाको खोजी कार्य गर्न निकै कठिन हुने उद्धारमा खटिनेहरुके अनुभव छ । ‘पाङ्ग्रा सहितको गाडी यति ठूलो पानीको बहावले सजिलै बगाउने हुँदा कताको खोंचमा लगेर अड्काउँछ भन्न नसकिने उनिहरु बताउछन् । तर गाडीबाट उछिट्टिएको अवस्थामा भने भेटिने गरेको उनिहरुको । त्रिशुलीमा गाडी खस्दा केही यात्रुको शव नवलपरासीको त्रिवेणी बाँधमा भेटिने गरेको गरेको समेत स्थानिहरु बताउछन् ।
पानीभित्र खोज्ने गोताखोर पनि समुद्र जस्तो शान्त भएर बग्ने पानीभित्र मात्र जाने भएकाले यहाँका नदीखोलामा गोताखोरले पनि पत्ता लगाउन गाह्रो हुने तारानाथ चपाइ गोताखोर बताउछन् ।
कसरी खोजी गरिन्छ बेपत्ता भएकाको ?
बेपत्तालाई खोज्ने उपाय भनेको दुर्घटनास्थलबाट नदीको बहाव स्थलसम्म हो । गोताखोर एउटा उपाय हो तर नेपालको नदीमा गोताखोर पानी भित्र नै गएर खोज्न सक्ने अवस्था नभएको गोताखोर शसस्त्र प्रहरीका हवल्दार तारानाथ चपाइको भनाई छ । ‘कुना तथा खोंचमा गएर डुबेको छ भने त त्यो खोजी कार्य गर्नै सकिंदैन जहाँ मानिस जानै सक्दैन त्यहाँ कसरी खोजी गर्ने’ उनले भने ।
¥याफ्टिङ वा डुङ्गाको माध्यमबाट नदीमा डुबेका गाडीलाई खोज्ने हो, गाडी बाहिर हो भने त लाशलाई त बगाएर लगिहाल्छ नि’ उहाँ भन्नुहुन्छ । डुङ्गामा हुक राखे हुकमा चुम्बक लगाएर चुम्बकको माध्यमबाट गाडीलाई पानीबाट बाहिर निकाल्न सकिन्छ, यदि गाडी छ भने ।
त्रिशली नदीको बहाव
त्रिशुली नदीको उद्मग स्थल रसुवाको गोसाईं कुण्ड हो । यो रसुवा, नुवाकोट हुँदै धादिङको बेनिघाटमा पुगेपछि बुढी गण्डकी नदी मिसिन्छ । मुग्लिनमा मस्र्याङदी तथा मुग्लिन र जलबिरे बीचको गाईघाटमा सेती नदी मिसिएको छ भने देवघाटमा काली नदी मिसिएपछि त्रिशुली नदी नारायणी नदीको रुपमा चिनिन्छ । जसको अन्त्य नवलपरासीको त्रिवेणीमा गएर हुन्छ ।

त्यसैले त्रिशुलीमा खसेका मानिसको लाश भेट्ने सम्भावना नवलपरासीको त्रिवेणीमा मात्र छ । जहाँ भारतले बिजुली निकाल्न बाँध बनाएको छ । यसअघि कतिपयको शव यहाँ भेटिएको थियो । तर कतिपय अवस्थामा भने त्रिशुलीको खोंच र अन्तरमै गाडी अड्किने भएकाले बेपत्ता भएकाहरुको अवस्था पत्ता लाग्न गाह्रो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com